नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी — OSNepal

नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी

Kesh Karki (USA) August 27, 2021 0

ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो । विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुई÷तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छन् । नगर प्रवेश गर्ने रुपनी सडक, कञ्चनपुर सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिरहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो÷सानो खाल्डो भएको ठाउँमा पानी जमेका छन् । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना–ठूला सवारी साधान मात्र होइन, पैदल हिँड्ने मानिसलाई समेत सकस भएको छ ।

पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारी साधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौँ खाल्डा रहेका छन् । लगातारको वर्षाले नगरका सबै सडकमा पानी जमेको छ भने सडक हिलाम्मेसमेत बनेका कारण पैदल आवतजावत गर्दा हातमा चप्पल तथा जुत्ता बोक्नुपर्ने बाध्यता रहेको पैदल यात्रीले गुनासो गरेका छन् ।राजविराजको पानीट्याङ्की सडकदेखि राममन्दिरसम्म समान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेका छन् । फलस्वरुप सवारी साधन र सर्वसाधारण मानिसलाई हिडनसमेत सास्ती भग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताउनुभयो । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा समेत निकै समस्या हुने गरेको पाइएको छ । नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेको बताइएको छ ।

जथाभावी फालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिँदा रोग समेत फैलिन सक्ने सम्भावना बढेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताउनुभयो । नगरपालिकाको विकास कार्य कछुवा गतिमा भइरहेको हुँदा अहिले फोहरका कारण नालाहरु समेत पुरिएको अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ ।शहर अव्यवस्थित हुदा सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने गरेका कारण नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै चुप लागेर बस्दा नगरवासी सास्ती खेप्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर