पर्सामा रहेको सर्वोत्तम स्टिल प्रालिको भट्टीमा विस्फोट हुँदा १५ जना कामदार घाइते — OSNepal

पर्सामा रहेको सर्वोत्तम स्टिल प्रालिको भट्टीमा विस्फोट हुँदा १५ जना कामदार घाइते

LC (KTM) August 26, 2021 0

पर्सा जिल्लाको पश्चिमी उत्तरी भेगमा पर्ने वीरगञ्ज महानगरपालिका–२२ मा रहेको सर्वोत्तम स्टिल प्रालिको भट्टी आज अपराह्न विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगमा रहेको फलाम पगाल्ने भट्टीमा ग्यास चुहिँदा विस्फोट भई उद्योगमा भएको आगलागीमा परी एक नेपालीसहित १५ भारतीय नागरिक घाइते भएका छन्् ।

घाइते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिङ्कु दास घाइते भएका छन् । अन्य घाइते भारतीय नागरिकमा भारत युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाह, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसा परिदा, ३० वर्षीय रामपुकार यादव, युपीकै ३८ वर्षीय चिङ्कु दास, १८ वर्षीय अमरनाथ सहनी, गगन नायक, खुशीनगरका ३५ वर्षीय धिरु सहनी, सिवानका ३० वर्षीय अरुण कुमार, बिहारका ५२ वर्षीय विनोद पाण्डे, २१ वर्षीय दीपक कुमार, दरभङ्गाका १८ वर्षीय रविकुमार दास, छपराका २२ वर्षीय अवधेशकुमार यादव र २२ वर्षीय निकुकुमार यादव रहेका छन् ।

घाइतेमध्ये रामपुकार यादव, टिङ्कु दास, विनोद पाण्डे, सन्तोष कुशवाह, गगन नायक, मानसा परिदा र सुशील कुमारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

गम्भीर घाइते भएकाको टाउको र शरीरको अधिकांश भाग जलेको र वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडाप्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । सो आगलागीबाट उद्योगमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण आउन नसकेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर