बर्षात्‌ले सडक अवरुद्ध भएपछि हेलिकाेप्टरको सहारा, महँगो भाडा तिरेर हेलिकाेप्टर चार्टर्ड गर्नुपर्ने अवस्था — OSNepal

बर्षात्‌ले सडक अवरुद्ध भएपछि हेलिकाेप्टरको सहारा, महँगो भाडा तिरेर हेलिकाेप्टर चार्टर्ड गर्नुपर्ने अवस्था

LC (KTM) August 26, 2021 0

तेह्रथुम, १० भदौ- तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ–बसन्तपुर सडकखण्ड वर्षाका कारण हिलाम्मे भएपछि यातायात सञ्चालनमा समस्या भएकाे छ । सडकको अवस्था नाजुक भएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लानुपर्दा महँगो भाडा तिरेर हेलिकाेप्टर चार्टर्ड गर्नुपर्ने अवस्था छ ।

तेह्रथुमको प्रमुख सडक म्याङलुङ–बसन्तपुर सडकखण्ड हिलाम्य भएपछि अहिले जिल्लाबासी थप उपचारका लागि हेलिकाेप्टर चार्टर्ड गर्न बाध्य भएका छन् । गत साता मात्रै मुटु र दम रोगबाट सिकिस्त भएका म्याङलुङ नगरपालिका ६ का ९५ वर्षीय नरप्रसाद लिम्बुलाई थप उपचारका लागि आफन्तले महंगो शुल्क तिरेर हेलिकप्टरबाट काठमाडाँै लगेका छन् ।

सदरमुकाम जोड्ने सडक हिलाम्य भएपछि साना सवारी साधन सञ्चालन नहुँदा आफन्तलाई बचाउनका लागि भए पनि लाखौँ खर्च गरेर एयर एम्बुलेन्समा जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको बिरामीका आफन्त गणेश लिम्बुले बताए ।

लगातारको बर्षाले निर्माणाधीन बसन्तपुर म्याङलुङ सडकखण्ड हिलाम्य भएपछि पुनः जिल्लाबासीलाई यो सडकले सास्ती दिएको स्थानीयको गुनासो छ् । सडकको अवस्था बिग्रिएपछि यसअघि पनि कोभिड संक्रमित मालपोत कार्यालयका कर्मचारी ४२ वर्षीया रुकादेवी सुवेदीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । सडक सञ्चालनका लागि निर्माण व्यवसायीहरुले चासो नदिँदा बर्षाले सडक हिलाम्य भएपछि अहिले लसुनेदेखि म्याङलुङसम्म साना सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु बीच बाटैमा अलपत्र हुने गरेको स्थानीय मिननाथ दाहालले बताए ।

१० सेन्टिमिटरको कालो पत्रे गरिने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर–म्याङलुङखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने उक्त सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब सात करोड रकम विनियोजन भए पनि कामको गति सुस्ताएपछि जिल्लाबासीको सास्ती ज्यूँको त्यूँ छ ।

जिल्लाबासीहरु अहिले सडककै कारण बिरामीलाई जिल्लाबाहिर उपचारका लागि लैजान नसक्दा उपचार नपाएर मृत्युसमेत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर