भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत — OSNepal

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

Kesh Karki (USA) August 26, 2021 0

यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् ।“भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भन्नुभयो, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ ९कुलो, नहर०को प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ ९इनार, बोरिङ० को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् ।जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ । असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् ।

पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउनुहुन्छ ।बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् ।

जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ । यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर