१३ वटा पसलमा भेटियो म्याद नाघेको सामग्री भेटीएपछि खैलाबैला, अनुगमन तीव्र — OSNepal

१३ वटा पसलमा भेटियो म्याद नाघेको सामग्री भेटीएपछि खैलाबैला, अनुगमन तीव्र

LC (KTM) August 25, 2021 0

बैतडी ९ भदौ । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन बढाएको छ । चाडपर्वको समयमा कालोबजारी हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला कार्यालयको सहभागितामा बजार अनुगमनकार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

उनकाअनुसार मंगलबार जिल्लाको सिउडे, सतबाँझ, मुस्याचोर, गुरुखोला र देहीमाडौंमा बजार अनुगमन गरिएको छ । ३३ वटा पसलमा अनुगमन गर्दा १३ वटा पसलबाट २१ हजार ५ सय बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको सूचना अधिकारी भारतीले बताए ।

यस्तै अनुगमनका क्रममा सातवटा पसल दर्ता नभएका पाइएका छन् । विभिन्न खाद्य सामग्रीहरु चाउमिन, बिस्कुट, पिठो लगायत पनि बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।

यस्तै अनुगमनका क्रममा दर्ता नगरी कारोबार गर्ने एकजना व्यापारीलाई २० हजार जरिवाना समेत गरिएको छ । सिउडेका व्यापारी जयबहादुर बिष्टलाई २० हजार जरिवाना गरिएको सूचना अधिकारी भारतीले बताए । दर्ता नगरेको पसलबाटै अर्कै प्यान नम्बरमा कारोबार गरेको देखिएकाले कारबाही गरिएको बताइएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, दशरथचन्द नगरपालिका लगायतका कार्यालयका प्रतिनिधिको सहभागिता थियो । अनुगमन कार्य निरन्तर रुपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर