नासों गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट — OSNepal

नासों गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट

Kesh Karki (USA) August 25, 2021 0

मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ ।गत असार १ गते आएको बाढीपहिराका कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बँेसीशहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो ।मस्र्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ ।

विस्थापित भएको गाउँपालिकाको सेवा धारापानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “गाउँपालिकाको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । तर, वडा नं ३ को कार्यालयमा नै गाउँपालिकाको कार्यालय राखेर सेवा दिन थालेका हौँ । यसले स्थानीयवासीलाई सेवा लिन र दिन पनि सहज भएको छ”, उहाँले भन्नुभयो, “जिल्लासँग जोड्ने सडक सञ्जाल अझैसम्म बन्न सकेको छैन । जोखिम मोलेर स्थानीयवासी सेवा लिन लमजुङ पुग्नुपर्ने समस्याले चिन्तित बनेका थिए । नदीमा पानीको सतह घटेपछि जिल्लामै कार्यालय स्थानान्तरण गरेर सेवा प्रवाह गर्न थालेका छौं ।”

विद्युत् आपूर्ति सहज नभएको अवस्थामा पनि पालिकाले सौर्य ऊर्जाको प्रयोगबाट सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।बाढीपहिराले गाउँपालिकाको कार्यालयमा रहेका सबै कागजात बगाए पनि प्रविधिले आवश्यक तथ्याङ्क सुरक्षित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले सम्पूर्ण कागजात बगाए पनि प्रविधिको प्रयोगले सुरक्षित छ । प्रविधिको प्रयोग नभएको भए विगतका पुराना तथ्याङ्कबिना काम गर्न सकिदैन थियो, यसले हामीलाई सहज बनाएको छ ।”

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरीचौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका केही घर बगाएको थियो ।गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच सम्पर्क विच्छेद भएको थियो । “एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ, मान्छे हिँड्ने बाटो केही ठाउँमा स्थानीयवासीले बनाएका छन्,” उहाँले भन्नुभयो,“अझै पनि विद्युत्, सञ्चारलगायतका आवश्यक सेवाबाट स्थानीयवासी वञ्चित छन् ।”

मनाङको केही स्थानमा सडक सञ्जाल निर्माण थालिएको छ । छिमेकी जिल्ला लमजुङबाट माथिल्लो सडकको ३५ किलोमिटरमा यातायात सुचारु भइसकेको छ । त्यस्तै मनाङको मेरुदण्ड मानिने बँेसीशहर–चामे–माथिल्लो मनाङ जोड्ने सडकको निर्माण कार्य थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखु भ्राताङ भिरमा नेपाली सेनाको प्राविधिक टोलीले सडकको नयाँ ट्र्याक निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर