सार्कीटोलको पीडा : वर्षेनी पालमै बास पाल टाँगेर ज्यान बचाउन बाध्य — OSNepal

सार्कीटोलको पीडा : वर्षेनी पालमै बास पाल टाँगेर ज्यान बचाउन बाध्य

LC (KTM) August 25, 2021 0

जाजरकोट, ९ भदौ -२५ असार २०७७ राति गएको पहिराले मानवीय क्षतिसँगै सयांै घरपरिवार विस्थापित भएको बारेकोट गाउँपालिका–४ मा अझै घरटहरा निर्माण हुन सकेका छैनन् ।गाउँपालिकाको–४ मा मात्र ७३ घरपरिवार पहिराका कारण विस्थापित भएपनि घर निर्माणको कुनै सुरसार नहुँदा यस वर्ष पनि उनीहरुले पालकै ओत लागेका छन् ।

ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा पाल टाँगेर ज्यान बचाउने अभियानमा लागेको सार्कीटोलका करवीर सार्कीले बताए । ‘हिउँदयाममा जसोतसो गरेर भत्किएकै ठाउँमा बसेका थियौँ, वर्षायाममा पनि उही हालत भयो, अघिल्लो वर्षकै पालको भरमा बसेका छौँ’, सार्कीले भने, ‘गाउँलेहरु मिलेर पालहरु टाँगेर बस्ने ठाउँ बनाइरहेको छौँ ।’

वडाध्यक्ष सिर्जना बस्नेतकाअनुसार तलगाउँका सर्वसाधारणलाई सिँजा बस्ती, बोहोराजिरीका लागि लेखीपर्छा, सार्कीटोलका लागि आर्रेगैरा, मैना र ठकुरीटोलको लागि दहमा पाल टाँगेर सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिइन् । ‘वर्षेनी ज्यान जोगाउन आफ्नो बासस्थान छोड्नु पर्ने बाध्यताले मन भारी भएर आउँछ, घर कहिले बन्छ, थाहा छैन’, विस्थापित मनवीर सार्कीले भने ।

त्यस्तै पहिरोमा परेर बाबु गोपाल सार्कीलगायत आफन्तहरु गुमाएका कृष्ण सार्की पीडा सहन नसक्दा अहिले मदिरा सेवन गर्ने लतमा लागेको मनवीरले बताए । आफन्त गुमाउनुको पीडा मानसिक रुपमा नै परेको अध्यक्ष बस्नेतले जानकारी दिइन् । कृष्णले पनि गाउँलेहरुसँग मिलेर आर्रेगैरामा पाल टाँगेर बस्ने ठाउँ बनाएको उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पाँच लाख रुपैयाँ र विभिन्न सङ्घसंस्थाले दिएको रकमबाट सार्कीटोलमै घर बनाएका कृष्णले योपटक पनि नयाँ घरमा बस्न नपाएर आर्रेगैरामै पाल टाँग्नु परेको छ । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा १० लाख रुपैयाँको तारजाली राखेर सार्कीटोलमा आएको पहिरो नियन्त्रणको काम भएको अध्यक्ष बस्नेतले बताइन् ।
त्यस्तै यसै वर्षभित्र निर्माण गर्ने भनिएका सुरक्षित आवास कार्यक्रमभित्रका एक सय घर निर्माणको काम अर्को वर्षका लागि सरेको छ । भूगोलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न समय लागेका कारण चालु आर्थिक वर्षमा घर निर्माणको काम अगाडि बढ्न नसकेको हो । वडा नम्बर ४ सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नम्बर ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । गाउँपालिकाभरी एक हजार दुई सय घरधुरी विस्थापित भएका थिए । १२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या

यस वर्ष पनि विस्थापित भएर पालमा बस्न बाध्य भएका सर्वसाधारणले गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या भएको बताएका छन् । बारेकोट–४ की पार्वती सार्कीले भनिन्, ‘हामी साह्रै समस्यामा छौँ, वर्षेनी पालमै बास होला जस्तो छ । पहिराको त्रासले घर छोडेर पालमा बस्न लागेको दुई महिना भइक्यो, अझै कति बस्नु पर्ने हो ?’

अघिल्लो वर्ष गाउँपालिकाकाअनुसार ६ हजार पाँच सय सातजना विस्थापित भएका थिए । यहाँका ५६ घरहरु जगसँगै भत्किएका थिए । पालको बसाइले स्वास्थ्यमा विभिन्न किसिमका स्वास्थ्यमा समस्य आउनेप्रति विस्थापितहरु चिन्ता व्यक्त गर्दछन् । सुुत्केरी, गर्भवती र बालबालिका निकै जोखिममा रहेका छन् । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको छ । जङ्गली जनावार तथा वर्षायाममा पानीको भलले गर्दा कसरी सुरक्षित हुने भन्ने चिन्ता बढेको छ । पालको बसाइसँगै खानेपानी र शौचालयकोसमेत समस्या पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर