ला लिगामा कमाल गर्यो एथ्लेटिकोले, उक्लियो शिर्षस्थानमा — OSNepal

ला लिगामा कमाल गर्यो एथ्लेटिकोले, उक्लियो शिर्षस्थानमा

LC (KTM) August 23, 2021 0

म्याडड्रिड (एजेन्सी), ७ भदौ – स्पेनिस ला लिगामा लगातार दोस्रो खेल जित्दा साविक विजेता एथ्लेटिको म्याड्रिड शिर्षस्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा एल्चेलाई पराजित गर्दै म्याड्रिड दुई अंकको अग्रता बनाउँदै शिर्षस्थानमा रहेको हो ।

घरेलु मैदानमा म्याड्रिडलाई जिताउन एक मात्रै निर्णायक गोल एन्जल कोरियाले गोल गरे । उनले अर्का अर्जेन्टिनी स्टार रोड्रिगो डि पौलको पास सदुपयोग गर्दै ३९ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै म्याड्रिडले शिर्षस्थानमा कब्जा जमाएको छ । साविक विजेतासँग २ खेलबाट स्पष्ट ६ अंक रहेको छ । उसले रियल म्याड्रिड र बार्सिलोनालाई पछाडि पारेको हो । एल्चे भने २ खेलबाट १ अंकसहित १६ औं स्थानमा छ ।

यता, राति नै भएको खेलमा रियल म्याड्रिड क्लब बराबरीमा रोकिएको छ । शिर्षस्थानमा पुग्ने अवसर रहेको रियल लेभान्तेसँग ३–३ को बराबरी खेल्दै शिर्षस्थान पुग्नबाट बञ्चित भएको हो ।

पहिलो हाफमा एक गोलले अग्रता बनाएको रियल दोस्रो हाफमा कुनै समय दुई गोलले पछि परेको थियो । खेलको पाचौं मिनेटमा गेराथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । करिम बेन्जेमाको पास सदुपयोग गरेको बेलले सन् २०१९ पछि ला लिगामा गोल गरेका थिए ।

दोस्रो हाफमा घरेलु टोली लेभान्तेले लगातार दुई गोल गर्‍यो । खेलको ४६ मिनेटमा रोगर मार्टीले गोल गरे । उनले गोन्जालो मिलेरोको पास सदुपयोग गरे । ५७ मिनेटमा लेभान्तेका जोस काम्पनाले २–१ को अग्रता बनाए । रियलका अट्याकर भिनिसस जुनियरले ७५ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

पुनः घरेलु टोली लेभान्तेका रोबर पिएरलले गोल गर्दै टोलीलाई अग्रता ३–२ को बनाए । पुनः रियलका भिनिसस जुनियरले गोल गर्दै टोलीको हार संकट टारे । बराबरीसँगै शिर्षस्थान पुग्नबाट बञ्चित रहेको रियल दुई खेलबाट ४ अंक सहित दोस्रो स्थानमा छ । समान दुई खेलबाट लेभान्ते २ अंक सहित ८ औं स्थानमा छ ।

यस्तै अर्को खेलमा रियल सोसिडाडले रायो भ्यालेकानोलाई १–० गोल अन्तरले पराजित गर्‍यो । ६८ मिनेटमा माइकल ओयरजबलले गरेका निर्णायक गोलसँगै रियर सोसिडाडले पहिलो जित हासिल गरेका छ । २ खेलबाट ३ अंक बनाएको सोसिडाड सातौ स्थानमा छ । २ खेलमा जितविहीन रहेको भ्यालेकानो भने पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर