तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन — OSNepal

तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन

Kesh Karki (USA) August 22, 2021 0

तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।

विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो ।

“यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”

कारागारमा हाल १११ थुनुवा र १७५ कैदीबन्दी गरी २८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । “गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुनसके सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा पटक–पटक यसबारेमा जानकारी गराएका छौँ ।”

कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यसबारेमा जानकारी गराइए पनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ । “करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।

कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यसयता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको उहाँले बताउनुभयो । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाइमा ध्यान दिएका छन् । “विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो, तर अहिले त्यस्तो समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर