सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग बढ्दो, कैयौँ सवारी साधनलाई यसरी नियन्त्रणमा लियो प्रहरीले — OSNepal

सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग बढ्दो, कैयौँ सवारी साधनलाई यसरी नियन्त्रणमा लियो प्रहरीले

LC (KTM) August 20, 2021 0

कपिलवस्तु, ४ भदौ -सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग निरुत्साहीत गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ । हत्यादेखि, चोरी तस्करी, लागु औषध कारोबारमा अत्यधिक प्रयोग हुन लागेपछि प्रहरीले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

अभिलेखीकरण नहुँदा अपराधमा प्रयोग भएका भारतीय सवारीसाधन प्रयोगकर्ता पहिचान गर्न असहज भएपछि प्रहरीले नयाँ जुक्ति निकालेको हो । भारतीय सीमा आसपास र राजमार्गदेखि दक्षिणतर्फका बस्तीमा भन्सार गरेका र नगरेका भारतीय मोटरसाइकल, जिप तथा कार नेपालीले प्रयोग गर्दै आएका छन् । विवाहमा दाइजो स्वरुप र भारतमा मूल्य सस्तो पर्ने हुँदा भारतीय आफन्तको नामबाट खरिद गरेर प्रयोग गर्ने गरेका छन् । चोरी भएका नेपाली मोटरसाइकलमा भारतीय नम्बर राखेर अपराधिक कृयाकलापमा संलग्न भएकोसमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीकाअनुसार कागजात भएका मोटरसाइकल नियन्त्रण राखेर अन्य मोटरसाइकलको कागजात प्रमाणीकरण गरी अभिलेखीकरण गरिएको बताउँछन् ।

नियमसंगत रहेका सवारी साधनको विवरण राखेपछि प्रयोगकर्तालाई सचेत गराई हस्तान्तरण गरिएको छ । अभिलेखीकरण गर्दा भारतीय सवारी धनीको विवरण, नेपालमा प्रयोग गर्नेको विवरण, सम्पर्क नम्बर, वतनसहितको तथ्यांक राखिएको छ । अभिलेखीकरण भएका भारतीय सवारी साधन अपराधमा प्रयोग भएमा नेपाली प्रयोगकर्ता पहिचान भई अनुसन्धानमा सहज हुने भण्डारी भन्छन् ।

गत साउनबाट सुरु भएको अभियानमा हालसम्म ६२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । ती मध्ये ४९ सवारी साधनको अभिलेखिकरण गरिएको छ । १३ मोटरसाइकल कागजात नभएका कारणले अनुसन्धानमा राखिएको बताइएको छ । कपिलवस्तु प्रहरीले साउन महिनामा भारतीय सवारी साधन प्रयोग गरी अवैध हतियारसहित एक जना र लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीकाअनुसार अधिकांश गोली प्रहार गरी हत्याको घटनामा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर