प्रधानमन्त्री देउवाको गृहजिल्लामा रमिता, स्थानीयले सडकमै यसरी रोपे धान — OSNepal

प्रधानमन्त्री देउवाको गृहजिल्लामा रमिता, स्थानीयले सडकमै यसरी रोपे धान

LC (KTM) August 20, 2021 0

डडेल्धुरा, ४ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका स्थानीयले सडकमा धान रोपेका छन् । सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै स्थानीयले विरोधस्वरूप सडकमै धान रोपेका हुन्।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेको स्थानीय युवा सुरत तमोलीले बताए। उनकाअनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाब स्वरुप धान रोपिएको हो। ‘नेता सुते धान उठे, बन्दैन सडक फल्दैछ बास्मती’ भन्ने नाराका साथ उनीहरूले विरोध स्वरुप सडकमा धान रोपेका हुन्।

धान रोप्ने समयमा स्थानीय महिलाले फागसमेत गाएका थिए। भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुईपटक आह्वान गरेको बोलपत्र स्थगित गरिसकेको छ। बजेट विनियोजन भई टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेका थिए। डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दुर्घटनाको उच्च जोखिम उच्च छ।

सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा दैनिकजसो जाम लाग्ने गरेको छ। जसका कारण हिँडडुल गर्न समस्या हुने स्थानीय बताउँछन्। सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो। सडक विस्तारका लागि टेण्डरसमेत भइसकेको अवस्थामा बागबजारका केही व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्दा दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर