तीन फरार प्रतिवादी पक्राउ — OSNepal

तीन फरार प्रतिवादी पक्राउ

LC (KTM) August 19, 2021 0

वाग्मती, ३ भदौ: जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ । पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की, चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् ।

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेलका ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ छन् । उनीहरूमध्ये केसीलाई अदालतबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु ३० लाख जरिवाना तथा श्रेष्ठलाई छ दिन कैद र रु १० लाख जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर