पैसा र सबै प्रकारको पहुँच भए पनि बेड र अक्सिजनको अभाव भइरहेको खबरले धेरैलाई अत्याएको थियो। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ।’ यसले समाजका तल्लो वर्गलाई राहत मिलेको थियो। तर सम्बोधनको एक दिनपछि धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै मृत्युवरण गर्नुपर्यो।
कमजोर आर्थिक अवस्थाका उनलाई रुघाखोकी, जिउ दुख्ने र ज्वरो बढ्ने समस्या भयो, चार दिनदेखि गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरिरहेका थिए। गाउँले उपचारबाट समस्या झन् बल्झिँदै गएपछि उनी सहयोगीसहित प्रादेशिक अस्पताल जनकपुरधाम पुगे। त्यहाँ बेड खाली छैन भन्ने जवाफ पाएपछि उनी जनकपुरकै निजी अस्पताल पुगे। निजी अस्पतालको धरौटी बुझाउन नसकेपछि उनी घर फर्के। घर फर्केको भोलिपल्ट सास फेर्न नसकेर उनले प्राण त्यागे।
एक सातादेखि शरीर दुख्ने, ज्वरो आउने समस्या बल्झिँदै गएपछि वैशाख ६ मा गोलबजार नगरपालिका– ६ डोहटियाका ३५ वर्षीय गुशरण सदाको मत्यु भयो। मृत्युपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो। पाँच दिन घरमै औषधि खाएर बसेका उनी अचानक बेहोस भएर मृत्युवरण गर्नुपरेको घटना धेरैलाई अनौठो लाग्यो। सेभ द चिल्ड्रेनमा कार्यरत सदा चैत २९ गते आमाको श्राद्धका लागि घर आएका थिए।नागरिक दैनिकमा यो खबर छ ।
तेज ज्वरोसँगै कमजोरी महसुस भएपछि पत्नी शान्तिले गुरुशरणलाई एम्बुलेन्समा राखेर उपचारका लागि गोलबजारस्थित भूमिजा अस्पताल पु¥याइन्। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा लहानमा मृत्यु भयो। गुरुशरणको मृत्युले स्थानीय सरकारमाथि प्रश्न तेर्साएको छ, ‘कोरानाकै लक्षणबाट बिरामी परेर थलिएका उनको जाँच किन गरिएन।