कोरोना संक्रमितको संख्या बढेपछि घरघरमा मास्क बाँड्न थालियो — OSNepal

कोरोना संक्रमितको संख्या बढेपछि घरघरमा मास्क बाँड्न थालियो

LC (KTM) August 18, 2021 0

भक्तपुर, २ भदौ – मध्यपुर थिमिकी राम माया श्रेष्ठ घरबाट बाहिर निस्कन परेपछि मुख छोप्ने मास्क खोज्न भ्याइनभ्याई हुन्थ्यो । कहिले त मास्क नै नलिई बाहिर निस्की हाल्छिन् । अनि बाटोमा प्रहरी देखेपछि मास्क लगाउन बिर्सेको सम्झिन्छिन् ।

‘अनि छेवैको पसलमा गई मास्क किनेर हतारहतार लगाउँथेँ । अनि आफ्नो बाटो लाग्थेँ,’ उनी भन्छिन्, ‘मास्क पनि खासै लगाउन आउँदैन थियो । अब त नगरपालिकाले मास्क पनि लगाउन सिकाएको छ, मास्क दिएर ।’

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मास्क अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन भएसँगै स्थानीय मास्क लगाउने विधि सिक्दै आएका छन् । पालिकाले नगरभित्र कोरोना संक्रमितको विरामी संख्या बढेपछि मास्क अभियान सञ्चालन गरेको हो । अभियान सञ्चालन भएसँगै स्थानीय मास्क लगाउने विधि सिक्दै आएका छन् । श्रेष्ठले नगरपालिकाले मास्क लगाउन सिकाउनका साथै मास्क पनि दिएको बताए ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठकाअनुसार नगरपालिको वडा नंं. ४ बाट मास्क वितरण कार्यक्रम सुरुवात गरेको छ । त्यसपछि क्रमश: अरु वडामा पनि मास्क वितरण गरिने छ । जिल्लाका अरु पालिकामध्ये थिमि पालिकामा संक्रमितको सख्या बढेको उनले बताए ।

पालिकाले मास्क वितरणका लागि कोभिड १९ र्‍यापिड एक्सन टाक्सफोर्सको सहकार्यसँग सहकार्य गरेको उनले जनाएका छन् ।

कार्यक्रमका लागि पालिकाले १५ जना स्थानीय र १५ जना टाक्सफोर्स गरी ३० जना सहजकर्ता खटाइने गरेको छ । ती सहजकर्ता घरघरमा गई स्थानीयलाई मास्क वितरणसँँगै लगाउनसमेत सिकाइने छ ।

‘बाटोमा हिँड्ने कतिपय बटुवाले लापरबाही रुपमा मास्क लगाएर हिँडेका छन् । कोही मास्क नै नलगाई हिँडेका छन्,’ उनले भने, ‘हामी नगरबासीलाई तीन जना परिवार सदस्य भएकालाई २५ वटा र सो भन्दा बढी भएकालाई ५० वटा मास्क वितरण गर्दै आएका छौँ ।’

यसको लागि आवश्यक मास्क आइसकेको छ । नपुग मास्क फेरि आउने नगरप्रमुख श्रेष्ठले बताए ।

मास्क वितरण कार्यक्रमले स्थानीयसमेत दंग छन् । पालिकाले मास्क वितरणसँगै आफूहरुलाई कसरी लगाउने भन्ने शिक्षासमेत दिएको स्थानीयले बताए ।

स्थानीय सीता श्रेष्ठले भनिन्, ‘पहिले हामीले लगाएको मास्कले कोरोना नछेक्ने रहेछ । अब त मास्क लगाउने तरिका पनि जान्यौँ । कोरोनाबाट बच्ने उपाय पनि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर