१ - १ लाख धरौटी राखेर छुटे जातीय विभेद मुद्दाका वडाध्यक्ष बुढा र उनका छोरा — OSNepal

१ – १ लाख धरौटी राखेर छुटे जातीय विभेद मुद्दाका वडाध्यक्ष बुढा र उनका छोरा

LC (KTM) August 18, 2021 0

जुम्ला, २ भदौ । जिल्ला अदालतले जातीय विभेद मुद्दा लागेका सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा रिहा गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद मुद्दा लागेका वडाध्यक्ष बुढा र उनका छोरालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

वडाध्यक्ष बुढालाई १ लाख १० हजार र छोरा नवीनलाई १ लाख धरौटीमा रिहा गरिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार तथा सूचना अधिकारी चेतराज पन्तले जानकारी दिए । ‘अभियोग पत्रको मागदावी सजायको हकमा दुई महिनादेखि दुई वर्षसम्म कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने गरी भएको छ,’ उनले भने, ‘तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धरौटी लिन सक्छ ।’ जातीय भेदभाव तथा छुवाछूत सजाय कसुर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढा र छोरा नवीनलाई धरौटी माग गरी पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएको निमित्त श्रेस्तेदार पन्तले बताए ।

अध्यक्ष बुढा र छोरा नवीनमाथि सिँजा गाउँपालिका – ६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको अभियोगमा अदालतमा मुद्दा चलेको थियो । पीडित नेपालीले २५ असारमा जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र छोरा नवीनविरुद्ध जाहेरी दिएका थिए । जाहेरी दर्ता गरेको प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागी नगराई सिधै अदालतमा उपस्थित गराएको थियो । जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए । वडाध्यक्षका छोरा नवीनलाई भने १० दिन हिरासतमा राखेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर