झापा- कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार निधन भएको छ । नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी हुनुहुन्थ्यो ।
गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बस्नुभएका उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।