७१ प्रतिशत बढीले राजस्व वृद्वि — OSNepal

७१ प्रतिशत बढीले राजस्व वृद्वि

Kesh Karki (USA) August 17, 2021 0

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजस्व असुली गरेको छ ।

साउन महिनामा रु ३७ करोड ४२ लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु ६४ करोड १४ लाख ६३ हजार राजस्व असुली गरेको हो । आर्थिक वर्ष २०७७÷७८ को सोही अवधिमा रु २३ करोड ५९ लाख चार हजार राजस्व असुली भएको कार्यालयले जनाएको छ ।

चीनको गञ्जाउ, केरुङ हँुदै नेपाल आयात भएका सामग्रीको नियमानुसार लाग्ने भन्सार शुल्क, मूल्य अभिवृद्विकर एवं अन्तःशुल्क समेतका शीर्षकबाट उक्त राजस्व असुली भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

नेपालतर्फको निर्यात भने शून्य रहेको बताइएको छ । दैनिक सातदेखि नौवटा चिनियाँ ठूला कन्टेनरले रसुवागढीसम्म माल सामग्री पु¥याउने र क्वारेन्टिनमा बसेका नेपाली कामदार तथा चालकद्वारा आयातीत सामग्री पल्टी गर्ने व्यवस्था मिलाइएको छ । बढ्दो कोरोना सङ्क्रमण रोक्न स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्दै मितेरीपुलमा पल्टी गराइएका सामग्री परीक्षण एवं मूल्याङ्कनका लागि तीन किमी दक्षिण टिमुरेस्थित भन्सार हातामा ल्याउने गरिएको छ ।

मितेरी पुलदेखि भन्सार हातासम्म क्वारेन्टिनमा बसेका चालकले मात्र सवारी साधन ओहोरदोहोर गराउने व्यवस्थान गराई रोगप्रति पूर्वसावधानी अपनाइएका कारण चिनियाँ सवारी चालक निर्धक्क साथ मितेरीपुल पुग्ने गरेको बताइएको छ । स्याउ, लसुन, अदुवा एवं स्वास्थ्यसम्बन्धी सामग्री तत्काल परीक्षण गराई गन्तव्यतर्फ पठाउने गरेको र अन्य सामग्री भन्सार हातामा प्रवेश गराई प्राथमिकताका आधारमा परीक्षण गर्ने गरिएको छ ।

यस भन्सार नाकााबाट विशेषगरी विद्युत् उत्पादनका सामग्री, तयारी पोसाक, स्वास्थ्य सामग्री, बच्चाका खेलौना, थरमस, जुत्ताचप्पल, सवारी साधनलगायत विविध सामग्री आयात हुने गरेको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर