काठमाडौं १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ दल खोल्ने संकेत गरेका छन् ।
आज मंगलबार जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई नेता नेपालले आफुहरु एकताको पक्षमा भएको भन्दै अध्यक्ष केपी ओलीले एकताको सबै ढोका बन्द गरिदिएकाले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका हुन् ।
एकताको लागि ओलीले फागुन २३ यताका सबै निणर्य खारेज गर्नुपर्ने भन्दै आफुहरुले सारेको प्रस्ताव लिएर नेता घनश्याम भुसाल ओलीलाई भेट्न जाँदा उनले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भनेको समेत खुलासा गरेका छन् ।
सम्बोधनमा नेपालले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’
आफ्नो पक्षले नयाँ दल दर्ता गरेपनि एकताको ढोका भने खुल्लै राख्ने बताएका नेपालले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छ, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।’