अलैँची मासिन थालेपछि किसान चिन्तित — OSNepal

अलैँची मासिन थालेपछि किसान चिन्तित

Kesh Karki (USA) August 17, 2021 0

खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।

छिर्के, फुर्के र जुरजुरे रोगका कारण अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका हुन् । मकैबारी मासेर अलैँची लगाएका किसान बाली नै मासिन थालेपछि समस्यामा परेका छन् । विभिन्न रोगका कारण मासिएर पुनः बचेको अलैँची अर्को पटक फेरि जोखिममा परेको किसानको भनाइ छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाको भनाइ छ । जुरजुरे रोगका कारण मासिएर शून्य जस्तै भएको अलैँची पुनः जाग्दै गएको भए पनि हाल पुनः मर्न थालेको किसान खतिवडाको भनाइ छ ।

रोगका कारण एकपटक मासिएको अलँैची बाली पुनः जोखिममा परेको छ । छिर्के, फुर्के जस्ता रोगका कारण बालीमा डढुवा लागेझैँ भएको र अलैँची बाली मासिने क्रम बढेपछि किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । अलैँची मासिने क्रम बढेसँगै मूल्य भने बढ्ने क्रममा छ ।

दुई वर्षअगाडि इलामको देउमाई नगरमा अलैँची बालीका लागि ब्लक कार्यक्रम सञ्चालन भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रम सम्पन्न भएपछि अलैँचीको विस्तार भयो तर अहिले भने डढुवा रोग र समयमा बर्सात नहुँदा अलैँची मासिने क्रममा छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिका क्षेत्रमा समेत अलैँची बाली मासिने क्रममा छ । किसानले अलैँची बाली मासिन थालेपछि वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । अलैँची उत्पादन घट्दै गएपछि मूल्य भने प्रतिमन ३० हजारभन्दा माथिसम्म पुगेको छ । हाल किसानले मासिएको अलैँची बारीमा घाँसलगायत अन्य कृषिजन्य वस्तु लगाउन थालेका छन् । अन्य बाली लगाउनु पर्दा किसानमा निराशा छाएको देउमाई कृषि सहकारी सङ्घ मङ्गलबारेका देउकुमार रानाले बताउनुभयो ।

गत वर्ष जिल्लामा पाँच सय ७६ मेट्रिक टन अलैँची उत्पादन भएकामा यो वर्ष उत्पादन र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार ६ सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको भए पनि ढुसीजन्य रोग, डढुवा र प्रतिकूल मौसमका कारण अलैँची बगान मासिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर