कोरोनाले ब्युटि पार्लर गर्नेहरुको पेशा चौपट, न गर्नु न छाड्नुको अवस्था आयो — OSNepal

कोरोनाले ब्युटि पार्लर गर्नेहरुको पेशा चौपट, न गर्नु न छाड्नुको अवस्था आयो

LC (KTM) August 16, 2021 0

सप्तरी । महिलाहरूको प्राथमिकता रहेको सुन्दरताको महत्त्व कोरोनाको पहिलो लहरदेखि घटेको छ।राजविराज नगरपालिकाका वडा नं ६ का ४० वर्षिया अनिता यादवले वर्षमा ४ पटक नियमित फेसियल गराउँदै आएकी थिइन् । उनले कोरोनाको पहिलो लहर शुरू भएदेखि अहिलेसम्म फेसियल गराउन पाएकी छैनन् । उनले भनिन्, ´लामो समयदेखि फेसियल गराएकी छैन । अनुहारमा रौनक छैन । आफैंलाई असहज महसुस भइरहेको छ। के गर्नु बाध्य छु, ज्यान भन्दा ठूलो अनुहार होइन ।’

उनी कोरोना शुरू भएदेखि अहिलेसम्म पार्लर गएकी छैनन् । उनले थपिन्, ´कोरोनाको अन्त्य भएको छैन । घटबढ भएको मात्र हो । पार्लर सार्वजनिक ठाउँ हो । जाँदा केही भइदियो भने! के गर्नु डर लाग्छ ।’

आईब्रो नबनाई, फेसियल नगरी विवाह समारोहमा नजाने राजविराज ७ कि ३८ वर्षिया सुनिता साह आईब्रो नबनाई फेसियल नगरी चार वटा विवाह भ्याईसकेकी छन् । उनले भनिन्, ´राम्री बनेर जान मन लाग्छ, तर के गर्नु बाध्यता छ । सामान्य अवस्था भएपछि ब्यूटी पार्लर जान्छु ।’

राजविराज नगरपालिका ७ कि ५० वर्षिया अनिता देवकोटाले भनिन्, ‘हामी महिलाले हाम्रो अनुहार, स्वास्थ्यमा ध्यान दिनुपर्छ, पहिले पहिले यसलाई महत्त्व दिएर प्राथमिकतामा राखेका थियौं । अहिले आवश्यक्ता महसुस भए पनि कोरोनाको कारण प्राथमिकतामा राख्न सकेका छैनौं ।’

डेढ दशकदेखि ब्यूटिपार्लर खोलेर आत्मनिर्भर रहेकी राजविराज ७ कि सविता कर्णले भनिन्, ´कोरोनाको यस्तै अवस्था रह्यो भने यो पेशाबाट बिस्थापित हुनुको बिकल्प छैन ।`

सौर्न्दर्य व्यावसायिक संघ सप्तरीका अध्यक्ष पुनिता दासले भनिन्, ´कोरोनाले हाम्रो पेशा बर्बाद पारेको छ ।’ उनका अनुसार ब्युटि पार्लर खोलेर आत्मनिर्भर भएका सप्तरीका दुई दर्जन महिलाहरू यो पेशाबाट विस्थापित भइसकेका छन् । जिल्लामा २ सय ५० ब्युटि पार्लर रहेकोमा कोरोना शुरू भएदेखि अहिलेसम्म दुई दर्जन पार्लर बन्द भइसकेको छ ।

महिलाहरूले आत्मनिर्भर भएर आर्थिक रूपमा सबल बन्नुपर्छ भन्ने सबै छन् । तर यस्तो समस्यामा सहयोग गर्ने कोहीँ हुँदैन भन्दै दासले थपिन्, ´महिलाहरूले स्थापित भएर कुनै कारणले विस्थापित हुन बाध्य भयो भने त्योभन्दा दुःख केही लाग्दैन ।

अहिलेको अवस्थामा यो पेशा एकदमै जोखिम अवस्थामा छ । आइब्रो मिलाउँदा फेसियल गर्दा सेवाग्राहीको नाकमुख नजिक पुग्नुपर्ने बाध्यता हुन्छ । एक त सेवाग्राही आउँदैन । आइ हाले पनि सबैलाई सेवा दिनसक्ने अवस्था नरहेको अध्यक्ष दासको भनाइ रहेको छ ।

अध्यक्ष दासले थपिन्, ´हामी व्यावसायीलाई मात्र सेवा दिन डर लाग्दैन । सेवाग्राहीलाई हामीभन्दा धेरै डर लागेको महशुस भएको छ ।` नियमित आउने ग्राहक पनि आउन छोडेका छन् । बन्द खुले पनि कोरोनाको त्रास कायमै रहेकोले यो पेशा धरापमा परेको अध्यक्ष दासको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर