कैयौँ सक्रिय सङ्क्रमित हुँदा हुँदै पनि निषेधाज्ञा खुकुलो पारिँदै ! — OSNepal

कैयौँ सक्रिय सङ्क्रमित हुँदा हुँदै पनि निषेधाज्ञा खुकुलो पारिँदै !

LC (KTM) August 16, 2021 0

पाँचथर ।कोभिड–१९ का ६ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको पाँचथरमा निषेधाज्ञा खुकुलो पारिएको छ । कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा सोमवार मध्यरातबाट लागू हुनेगरी थप गरिए पनि निकै खुकुलो पारिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी निषेधाज्ञाअनुसार अब बजार–पसल विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुरेण्ट समेत स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

यद्यपि मेला, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । यस्तै सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमीङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय भने खोल्न रोक लगाइएको छ ।

यसअघि सवारीका साधन सञ्चालनमा लगाइएको जोरविजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिने छ । यस्तै विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षाहरु सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश साउन ३२ गते मध्यरातबाट भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल विहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो ।

पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ सङ्क्रमण घटेको तथ्याङ्कमा देखिए पनि सङ्क्रमणको खतरा भने उत्तिकै छ । जनस्तरमा निषेधाज्ञालाई कडाई गर्न वा क्रमशः हटाउँदै लैजान आवाज उठ्दै आएको थियो ।

हालसम्म जिल्लामा तीन हजार ६९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार ४२ जना सङ्क्रमणमुक्त भएका छन् । जिल्ला भित्रै हालसम्म १८ जनाको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ भने जिल्ला बाहिर गई उपचार गराउने क्रममा हालसम्म ५० जनाको सङ्क्रमणकै कारण ज्यान गएको छ । यो तथ्याङ्कलाई आधार मान्दा अहिले जिल्लामा ६०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् । जसमध्ये जिल्ला अस्पतालको एचडीयूमा १८ जनाको उपचार भइरहेको छ ।

अहिलेका अधिकांश सङ्क्रमित सदरमुकाम बाहिरका छन् । सङ्क्रमणको दर भने केही घट्दै गएको छ । आइतवार जिल्लामा २९ जनाको एण्टिजेन परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । यस्तै शनिवार २९ जनाकै एण्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण देखिएको थियो ।

समुदायस्तरसम्म सङ्क्रमण ब्यापक रुपमा फैलिएपछि कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाहरु समेत परीक्षण नगराई बस्ने गरेकाले सबै सङ्क्रमितहरु तथ्याङ्कमा भने समेटिन सकेका छैनन् ।

प्रशासनको सेवामा आलोपालो प्रणाली

जारी निषेधाज्ञालाई खुकुलो पारिएपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ । स्थानीय तहका आधारमा साताका तीन दिनमा सेवा प्रवाहका लागि आलोपालो प्रणाली लागू गरिएको हो । जसअनुसार कार्यालयले आइतवार फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ । यस्तै मङ्गलबार हिलिहाङ, याङवरक र फाल्गुनन्द गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान हुनेछ । कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका सेवाग्राहीले विहीवार सेवा पाउने छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी धनञ्जयकुमार शाहले आइतवार सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा भीडभाड नियन्त्रण र ब्यवस्थापन गर्न आलोपालो सेवा प्रदान गर्न लागिएको जानकारी दिए । सेवा सदाझैँ विहान १० बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर