लमजुङ, ३२ साउन । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दुई जना र आइतबार ४ जना गरी दुई दिनमा ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तलाई पछिल्लो समय खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार अदालतबाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको छ ।
प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका बिभिन्न मुद्दाका अभियुक्तलाई खोज तलास गर्दा ६ जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
प्रहरीले लागुऔषध (ब्राउन सुगर) मुद्दामा ९ वर्षदेखि फरार बेँसीशहर नगरपालिका ७ का २९ वर्षीय अम्मर बहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई शनिबार बेंसीशहर नगरपालिका ७ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी कार्कीले बताए ।
यसैगरी चोरी सम्बन्धी मुद्दामा फरार रहेका १८ दिन कैद र २० हजार ३ सय २५ जरिवाना तोकिएका बेंसीशहर नगरपालिका ४ का २३ वर्षीय रविन गुरुङलाई पनि पक्राउ गरेको छ । उनलाई बेंसीशहर नगरपालिका ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बहुबिबाह मुद्दामा २० बर्षदेखि फरार रही १ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेका बेंसीशहर नगरपालिका ३ का वर्ष ४५ का मिनकुमार श्रेष्ठलाई पक्राउ गरिएको छ । उनलाई राईनास नगरपालिका ६ बाट लुकिछिपी बसेको अवस्थामा आइतवार पक्राउ गरिएको हो ।
यस्तै, जालसाजी मुद्दाका १ जना, सम्बन्ध बिच्छेद मुद्दाका १ जना र लुटपाट मुद्दाका १ जना गरी जम्मा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरेकोमा अम्मरबहादुर गुरुङ, मिनकुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन् । अन्य ३ जना जरिवाना वापतको रकम बुझाएर छुटेका छन् ।