सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्छः प्रहरी महानिरीक्षक क्षेत्री — OSNepal

सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्छः प्रहरी महानिरीक्षक क्षेत्री

LC (KTM) August 15, 2021 0

धनुषा ३१ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा २ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रमाणमुखी अनुसन्धान कार्य, जघन्य प्रकृतिका मुद्दा तथा संवेदनशील वर्गमा हुने अपराधहरुमा थप चनाखो भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै सिमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा समेत संवेदनशील भई कार्य गर्न उनले उल्लेख गरे ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण लगायत कार्यमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गरेका उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २ नम्बर प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर