रु ३७ लाख जुटाएर प्रहरीका लागि भवन — OSNepal

रु ३७ लाख जुटाएर प्रहरीका लागि भवन

Kesh Karki (USA) August 14, 2021 0

पोखरा महानगरपालिका–३ नदीपुरमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । करिब ४० वर्षअघि स्थापना गरिएको सो प्रहरी पोष्ट जस्तापाताले छाएको एउटा सानो कोठाबाट सञ्चालन हुँदै आएकामा नागरिक तथा सङ्घ संस्थाको आर्थिक सहयोगमा पक्की भवन निर्माण गरिएको हो ।

कोठा अभावमा सेवाग्राहीलाई आफ्नै शय्यामा राखेर समेत सेवा प्रवाह गर्नुपर्ने अवस्था विगतमा रहेकामा अहिले पक्की भवन बनेपछि प्रहरीलाई सहज भएको अस्थायी प्रहरी पोष्टका प्रमुख एवं प्रहरी हबल्दार गौतम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाँचजना प्रहरी कर्मचारी सुत्ने, सेवाग्राहीलाई सेवा दिनेसमेत एउटै कोठाबाट गर्नुपर्ने बाध्यता थियो । कानुन विपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिए पनि राख्ने कोठा थिएन । सडक र चौतारामा राखेर सोधपुछ गर्नुपर्ने अवस्थामा अहिले भवन बनेपछि प्रहरीसहित सेवाग्राहीलाई पनि सुविधा भएको छ ।”

हाल निर्माण गरिएको भवनमा तल्लो र माथिल्लो तलामा गरी छ कोठा छन् । कार्यालय प्रमुख, अन्य प्रहरी कर्मचारी तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै कोठा रहेको श्रेष्ठले बताउनुभयो ।

गत फागुनदेखि अस्थायी प्रहरी पोष्टको भवन निर्माण सुरु गरिएको थियो । वडावासी नागरिक तथा सङ्घसंस्थाबाट रु ३७ लाख सहयोग रकम सङ्कलन गरिएको र रु ३४ लाखमा बिट निर्माण गरिएको निर्माण समितिका सचिव सनकमान सिकेले बताउनुभयो ।

बचत रकम रु तीन लाखले सडकपेटीमा रेलिङ निर्माण, शिलालेख र चौतारी पुनर्निर्माणमा खर्च गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीका लागि निर्माण गरिएको भवन नहरको मापदण्डभित्र परे पनि अन्यत्र जमिन प्राप्त हुन नसकेको र प्रहरीले भोग्दै आएको दुःखकष्ट समाधान गर्न नयाँ भवन निर्माण गरिएको हो । सबैबाट सहयोग जुटाएर भवन निर्माण सम्पन्न गर्न पाउँदा खुशी लागेको छ ।”

नवर्निमित प्रहरी पोष्टको आज सोही वडाका वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले शुभारम्भ गर्दै जनताको शान्तिसुरक्षा र प्रभावकारी सेवा प्रवाहका लागि सहयोग पुग्ने बताउनुभयो । अर्थ सङ्कलन समितिका संयोजक भास्करध्वज श्रेष्ठले प्रहरी भवन निर्माणका लागि वडावासीबाहेक अन्यत्रका नागरिकबाट समेत उत्साहजनक रूपमा सहयोग प्राप्त भएको बताउनुभयो ।

पोखराको मुख्य बजार महेन्द्रपुलदेखि उत्तर लामाचौर जाने सडक खण्डमा रहेको सो प्रहरी पोष्टले वडामा शान्तिसुरक्षा कायम गर्नाका साथै दुर्घटना न्यूनीकरणका लागिसमेत कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर