सावधान ! काठमाडौं उपत्यकामा देखियो यस्तो सङ्केत — OSNepal

सावधान ! काठमाडौं उपत्यकामा देखियो यस्तो सङ्केत

LC (KTM) August 12, 2021 0

काठमाडौं । पछिल्लो दुई हप्ता यता उपत्यकाका अस्पतालहरुमा सङ्क्रमितका बिरामीहरु बढेका छन् । विभिन्न अस्पतालले जनाए अनुसार पछिल्लो दुई हप्तामा सङ्क्रमितका लागि छुट्याइएका साधारण बेडहरु भरिन लागेका छन् भने आईसीयू बेडहरु भरिइसकेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि पछिल्लो दुई साता यता सङ्क्रमितका बिरामी बढ्दै गएका छन् । टेकु अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलाका अनुसार पछिल्लो दुई हप्तायता सङ्क्रमितका बिरामीहरु अस्पताल भर्ना हुन आउने क्रम बढेको हो । उहाँका अनुसार अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याइएका ४० बेडहरुमध्ये २५ वटा बेडहरु भरिइसकेका भने आईसीयुका लागि छुट्याइएको २४ बेडहरु सबै भरिइसकेका छन् । पछिल्लो समय उपत्यका बाहिरबाट आउने कोभिडका विरामीको सङ्ख्यामा पनि भइरहेको उहाँले बताउनुभयो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा.सन्तकुमार दासका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो । अस्पातालमा छुट्याइएको ४० बेडको आईसीयूमा सबै भरिइसकेको दासले बताउनुभयो । जसमध्ये १७ जना भेन्टिलेटरमा रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिले बिरामीको लागि ११५ वटा साधारण बेडहरु छुट्याइएको छ जसमध्ये अहिले ८५ जना भर्ना भरिइसकेका छन् ।

यस्तै ह्याम्स अस्पतालमा पनि पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना हुन आउने ना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अस्पतालका मिडिया कोअर्डिनेटर साजन राज भण्डारीका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा आउने सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । ह्याम्स अस्पतालमा कोभिडका लागि छुट्याइएका १३ वटा आईसीयू बेडहरु सबै भरिइसकेका छन् जसमध्ये पाँच जना भेन्टिलेटरमा छन् भने ४९ वटा साधारण बेडहरुमध्ये ४२ वटा बेडहरु भरिइसकेका छन् ।

नर्भिक अस्पतालमा पछिल्लो दुई हप्तामा बिरामीका लागि छुट्याइएका बेडहरु भरिएका छन् । अस्पतालका मिडिया कोअर्डिनेटर सोमनाथ बाँस्तोलाका अनुसार अस्पतालमा कोभिडका लागि छुट्याइएका ३६ वटा बेडहरु सबै भरिइसकेका छन् । ३६ वटा बेडहरुमध्ये १७ वटा साधारण बेड र अरु आईसीयू बेड छन् । तमीध्ये सबै बेडहरु भरिसकेकाले बाहिरबाट आउने नयाँ सङ्क्रमितहरुलाई बेड अभावका कारण अन्य अस्पतालहरुमा पठाउनुपरेको बास्तोलाको भनाइ छ ।

कोभिड युनिफाईड अस्पतालमा पनि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रबहादुर बस्नेतका अनुुसार अहिले अस्पातालमा उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । उहाँका अनुसार अस्पतालको साधारण र एचडीयू गरेर १६३ बेड क्षमता छ भने आईसीयू ४० बेडको छ । जसमध्ये अहिले आईसीयूमा २० जना रहेका छन् भने साधारण बेडमा ८८ जना उपचाररत छन् । पछिल्ला केही दिनमा आउने सङ्क्रमितको सङ्ख्या हेर्दा केही दिनमै अस्पतालमा रहेका सबै बेडहरु भरिन सक्ने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर