कोरोना संक्रमण बढेपछि निषेधाज्ञा थप कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द — OSNepal

कोरोना संक्रमण बढेपछि निषेधाज्ञा थप कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

LC (KTM) August 10, 2021 0

बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।

बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा ६०३ सक्रिय सङ्क्रमित रहेका छन् भने ६३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमबार सिफारिस गरेको थियो । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर