दार्चुला । दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ । सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाउनुभएका तिङ्करका स्थानीय योगेश बोहराले जानकारी दिनुभयो ।
सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो । सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द्र बमले जानकारी दिनुभयो । बीओपीको दुई वटा भवन (ब्लक) संगै भान्सा र शौचालय निर्माण गरिएको छ । बीओपीको भवन तिङ्कर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको एसपी बमले बताउनुभयो । बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
तिङ्कर गाउँबाट दुई किलोमिटरको दुरी छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ । छियालेकभन्दा माथि मानव बस्ती छैन । तिङ्करबाट झण्डै पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको एक नम्बर पिलर आउँछ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएपछि टिंकर भञ्ज्याङसम्म बेला बेला सुरक्षा गस्ती हुने गरेको छ ।