महिला सशक्तिकरण बिना खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन : मन्त्री यादव — OSNepal

महिला सशक्तिकरण बिना खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन : मन्त्री यादव

Kesh Karki (USA) March 25, 2025 0

काठमाडौं, ११ चैत – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन्।

आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवास), नेपालद्वारा काठमाडौंमा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व : अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

मन्त्री यादवले भने, “खानेपानी तथा सरसफाइ हाम्रो आधारभूत आवश्यकता मात्र होइन, समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय हो। यस क्षेत्रमा महिलाको भूमिका झनै महत्वपूर्ण छ। घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास, र स्वास्थ्य सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी प्रायः महिलाहरूको काँधमा हुन्छ।”

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरू कमजोर नरहेको बताए।

उनले भने, “महिलाहरू कमजोर छैनन्। नेपालका राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव महिलाहरू बनेर देशको नेतृत्व गरिसकेका छन्। महिलालाई अवसर दिइएमा उनले जस्तोसुकै ठूलो काम पनि गर्न सक्छन्।”

उनले महिलाहरूले प्रधानमन्त्री बनेर समेत उत्कृष्ट काम गर्न सक्छन् भन्ने धारणा राखे। समाजको आधा हिस्सा ओगट्ने महिलाहरू खानेपानी तथा सरसफाइ प्रणालीका प्रत्यक्ष उपभोक्ता मात्र नभई घर व्यवस्थापनदेखि समाज रूपान्तरणसम्म उनीहरूको भूमिका अतुलनीय रहेको मन्त्री यादवले बताए।

उनले भने, “महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन्। तर, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ।”

महिला सशक्तिकरण बिना दिगो विकास असम्भव

महिला नेतृत्व प्रवर्द्धन गर्न सरकार र समुदायले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री यादवले भने, “महिला सशक्तिकरण बिना हामीले खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौं।”

उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

महिलाहरूले संस्थागत निर्णय प्रक्रियामा प्रभावकारी भूमिका खेल्न आर्थिक तथा कानुनी पहुँचको समस्या भोग्नु परेको उल्लेख गर्दै मन्त्री यादवले महिला नेतृत्वका लागि अनुकूल वातावरण तयार गर्न पहलको अभाव रहेको बताए।

उनले भने, “महिलाहरू खानेपानीका उपभोक्ता मात्र नभई खानेपानी तथा सरसफाइ व्यवस्थापनका प्रभावकारी संरक्षक हुन्। घरदेखि समुदायसम्म खानेपानीको सही व्यवस्थापनमा महिलाहरूको भूमिका अहम् छ।”

महिला नेतृत्व प्रवर्द्धनका लागि विशेष व्यवस्था लागू गरिने

मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने बताए।

त्यस्तै, महिला नेतृत्व प्रवर्द्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम, र आर्थिक सहयोग उपलब्ध गराइने उनको भनाइ थियो।

उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने उद्घोष गरे।

जल स्रोतको दिगो व्यवस्थापनका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले पानीको दुरुपयोग रोक्न, स्रोत संरक्षण गर्न, तथा सरसफाइको सही अभ्यास अपनाउन उपभोक्ताहरूलाई आग्रह गरे।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन खेलेको भूमिका अत्यन्त सराहनीय रहेको बताउँदै मन्त्री यादवले महासंघको पहललाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे।

उनले सरकार खानेपानी तथा सरसफाइ सेवा सुधार, महिला नेतृत्व प्रवर्द्धन, र उपभोक्ता अधिकार संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर