सोल्मा वडाकप पुरूष फुटबल प्रतियोगिताको उपाधि महादेवस्थानलाई — OSNepal

सोल्मा वडाकप पुरूष फुटबल प्रतियोगिताको उपाधि महादेवस्थानलाई

LC (KTM) March 14, 2025 0

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरूष फुटबल प्रतियोगिता–२०८१’ को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेलमैदानमा सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि प्राप्त गरेको हो ।

प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निकै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरूद्ध कुनै पनि गोल फर्काउन नसक्दा उपाधि चुम्नबाट चुकेको हो ।

प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रू एक लाख ३३ हजार तीन सय ३३ तथा उपविजेता केएफएले नगद रू ७१ हजार एक सय ११ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका सेमी फाइनलिष्ट दुई टिम आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रू ३५ हजार पाँच सय ५५ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कारअन्तर्गत पाँचौँ संस्करणको प्रतियोगिताको बेस्टप्लेयर घोषित महादेवस्थानका भुवन श्रेष्ठले रू पाँच हजार पाँच सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्लाका विभिन्न १२ वटा वडाका खेलाडी सहभागी प्रतियोगितामा महादेवस्थानका श्रेष्ठ बेस्ट प्लेयर घोषित हुनुभएको हो ।

प्रतियोगिताका बेस्ट गोलकिपरमा महादेवस्थानका कुसन राई, बेस्ट डिफेन्डरमा सोल्माका आशिष राई, बेस्ट मिडफिलडरमा केएफएका सोइसन राई, हाइस्कोररमा केएफएकै शैलेन्द्र बजिमय, राइजिङ प्लेयरमा केएफएकै सुलभ भुजेल र बेष्ट कोचमा महादेवस्थानका लोकेन्द्र केसी घोषित हुनुभएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीलाई जनही रू तीन हजार तीन सय ३३ का दरले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनका अवसरमा खेल क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार चिसाङ शेर्पालाई रू पाँच हजार पाँच सय ५५ नगदसहित ‘खेल पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी टिम, खेलाडी तथा पत्रकारलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतले पुरस्कार वितरण गर्नुभएको हो । सोल्माका पूर्वनिर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सोल्माका २० जना व्यक्तिलाई सो अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ ।

यही फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । विसं २०७२ मा नगरकप सञ्चालन गरेको सोल्मा स्पोर्टस् क्लबले दोस्रो वर्षदेखि खुला पुरूष अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर