कर्णाली, २५ माघः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज सम्पन्न भर्चुअल बैठकका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री कँडेलले बजेट अभावका कारण कर्णालीमा सञ्चालित ठूला आयोजनाहरूको निर्माण सम्पन्न हुन नसकेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।
कर्णाली करिडोर, कर्णाली राजमार्ग र भेरी करिडोरको स्तरोन्नतिमा हाल देखिएको बजेट अभाव र काममा भएको ढिलाइका सम्बन्धमा मुख्यमन्त्री कँडेलले बैठकमा जानकारी दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा पर्ने मान्साभिरको सडक र भेरीमा पुल निर्माणमा जोड दिनुपर्ने, कोहलपुर–सुर्खेत एक सय ३२ केभिए प्रसारण लाइनको विस्तारमा हाल देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने, सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति, जाजरकोट भूकम्पपछिको पुनःनिमार्णमा भइरहेको ढिलाइबारे पनि मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र रुख कटानमा देखिएको ढिलाइका कारण बड्डीचौर–खम्बागाढे, तेलपानी–भुरीगाँउलगायत सडक आयोजनामा निर्माण र विस्तारमा देखिएका समस्या, अलपत्र रानीघाट पुल निर्माण अघि बढाउन, प्रदेश तथा स्थानीय तहले सडक तथा अन्य आयोजना बनाउँदा रुख कटानमा तिर्नुपर्ने शुल्क हटाउने व्यवस्था मिलाउन उहाँले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको गौतमले बताउनुभयो ।
सङ्घीय सरकारले ठेक्का लगाएको भेरी बबई डाइभर्सन आयोजनाको कामलाई समयमा सम्पन्न गर्नुपर्ने, आसन्न चैत २३–३० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा सङ्घीय सरकारबाट हुनुपर्ने मागसहित कर्णाली प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा भइरहेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्थाबारे पनि उहाँले बैठकमा प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभएको थियो ।