काठमाडौँ, २४ पुस : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहनाअनुसार नै संविधान संशोधन गरिने स्पष्ट पार्नुभएको छ । नेवा एकता दिवसका अवसरमा नेवाः देय्ः दबुले आज टोखामा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानलाई थप सुदृढ बनाउन तथा जनतालाई थप अधिकार दिन संविधान संशोधन गरिने बताउनुभयो ।
जटिल राजनीतिक अवस्थामा पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाबाट अहिलेको संविधान जारी भएको स्मरण गर्दै उहाँले संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वय नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।
“विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ, संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “संविधानको रक्षा गर्दै संविधानप्रदत्त अधिकारको सदुपयोग गर्दै जानुपर्छ ।”
फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले कला संस्कृति संरक्षण गर्न नेवार समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । “भाषा, संस्कृति र पहिचान जोगाउन नेवाः देय् दबुले काम गरिररहेको छ, यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्”, उहाँले भन्नुभयो ।