दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै सुनसरीका रविन्द्र — OSNepal

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै सुनसरीका रविन्द्र

LC (KTM) December 25, 2024 0

इनरुवा (सुनसरी)- जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आउनुभएको छ । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उहाँले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिनुभएको हो ।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गर्नुभयो । उहाँले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आउनुभएको हो ।

यादवले अहिले सबै खर्च कटाएर मासिक रु ९० हजारसम्म आम्दनी भइरहेको जानकारी दिनुभयो । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध सङ्कलन हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मासिक रूपमा रु एक लाख २० हजार आम्दनी हुनेमा सबै खर्च कटाउँदा रु ९० हजार बचत भइरहेको छ ।

“साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, यादवले भन्नुभयो, “मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च रु ३० हजार हुँदै आएको छ ।” रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । युुवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर