नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन — OSNepal

नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

LC (KTM) December 24, 2024 0

डा राजन थपलिया – कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरलाई माथि उठाउन सक्दछ । नेपालले सामाजिक, आर्थिक र भौगोलिक अवस्थासँगै, क्षेत्रीय ‘एआई हब’ बन्ने सम्भावना बोकेको छ । नेपाललाई एआई हबका रूपमा स्थापित गर्न डिजिटल पूर्वाधार, मानव पुँजीमा लगानी र सरोकारवालाबीच सहकार्य आवश्यक छ । ‘फोर–जी’ र ‘फाइभ–जी’ नेटवर्क विस्तार, काठमाडौँ, पोखरा र इटहरीजस्ता सहरहरूमा ‘टेक पार्क’ स्थापनालगायतका पहलहरूले यस प्रक्रियामा आधारशिलाको काम गर्न सक्छ ।

नेपालले मानव पुँजीमा लगानी गर्न, विद्यालय, कलेज र विश्वविद्यालयहरूमा एआई–केन्द्रित पाठ्यक्रमहरू सुरु गर्नुपर्ने हुन्छ । विश्वव्यापी संस्थाहरूसँग सहकार्य गर्दै तालिम कार्यक्रम, कार्यशाला र पाठ्यक्रमहरू प्रदान गरेर नेपाली युवाहरूको विशेषज्ञता अभिवृद्धि गर्न सकिन्छ । साथै, सरकारले कर छुट, अनुदान र एआई स्टार्टअपहरूका लागि प्रोत्साहन गर्ने नीतिहरू ल्याउँदा नवीनतालाई प्रोत्साहन दिन मद्दत पुग्नेछ । एआई आधारित उद्यमशीलता समर्थन गर्न इनक्युबेटर र एक्सेलेरेटरहरूको स्थापना गर्दा प्रतिभा र लगानीलाई आकर्षित गर्न सकिन्छ ।

नेपालले एआईको माध्यमबाट धेरै फाइदा लिनसक्छ । एआई–सक्षम उपकरणहरूले निदानको शुद्धतालाई सुधार गर्न र टेलि–मेडिसिन सेवाहरूलाई दुर्गम स्थानसम्म पुर्याउन सकिन्छ । एआईबाट सञ्चालित व्यक्तिगत शिक्षण प्लेटफर्महरूले ग्रामीण विद्यार्थीका लागि शिक्षामा भएका खाडलहरू पुर्न सकिन्छ । यसैगरी, व्यावसायिक खेती, मौसम पूर्वानुमान र कीराहरूको पहिचानजस्ता एआई अनुप्रयोगहरूले कृषि उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छ । साथै, भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपमा एआईको भूमिका धेरै महत्त्वपूर्ण छ । यसले समयमै उद्धार र स्रोतहरूको व्यवस्थापन गरेर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।

एआईको माध्यमबाट चुनौती र आवश्यकताहरू सम्बोधन गर्न सकिन्छ । एआई मोडेलहरूलाई नेपाल–विशिष्ट डेटा प्रशिक्षण दिएर यसको प्रासङ्गिकता सुनिश्चित गर्न सकिन्छ । उदाहरणका लागि, भाषण पहिचान उपकरणहरूले नेपाली र मैथिली, भोजपुरी, तामाङजस्ता क्षेत्रीय भाषाहरूलाई संवर्द्धन हुनसक्छ । एआईले पर्यटनमा भर्चुअल गाइड, च्याटबोट र एआर÷भिआर अनुप्रयोगहरूमार्फत नेपालको सांस्कृतिक सम्पदालाई बढाउन सक्दछ भने वित्तीय क्षेत्रमा एआई–सक्षम क्रेडिट स्कोरिङ प्रणालीहरूले अन्डरसर्ड जनसङ्ख्यालाई ऋण विस्तार गर्न मद्दत गर्न सक्छ ।

एआईको लाभलाई अधिकतम बनाउन, नेपालले दक्ष कार्यान्वयन र निरन्तर नवप्रवर्तन सुनिश्चित गर्नुपर्छ । केन्द्रित डेटा भण्डारहरूको सिर्जना र डेटा गोपनीयता नियमहरूको कार्यान्वयन गर्नु यसका आधारभूत चरणहरू हुन् । छात्रवृत्ति, अनुदान र विश्वविद्यालयहरूसँग सहकार्य गरेर एआई अनुसन्धानलाई प्रोत्साहित गर्दा स्थायी विकासका लागि ज्ञानको आधार सिर्जना गर्न सकिन्छ । नागरिकहरूलाई एआईका फाइदाहरू र सीमाहरूको बारेमा शिक्षित गर्नाले स्वीकृति बढाउन र रोजगारी हराउने डर वा गोपनीयतासम्बन्धी चिन्ताहरूलाई कम गर्न सकिन्छ । एआई पहलहरूबाट नेपालको दिगोपन लक्ष्यहरूसँग मेल खाने कृषि र ऊर्जामा वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन हुनसक्छ ।

सरकारी कार्यालयहरूमा एआईलाई एकीकृत गर्दा दक्षता, पारदर्शिता र सेवा वितरणमा सुधार गर्न सकिन्छ । एआई–सक्षम इ–शासन समाधानहरूले रेकर्ड राख्ने जस्ता सामान्य प्रशासनिक कामहरू स्वचालित गर्न सक्छ, जसले प्रशासनिक अक्षमता कम गर्छ । नीतिहरूको प्रभाव मूल्याङ्कन गर्न र सुधारका सुझाव दिन ठूला डेटासेटहरू मूल्याङ्कन गर्ने उपकरणहरूले तथ्यमा आधारित निर्णय–निर्माणलाई प्रोत्साहन गर्नसक्छ । त्यसैगरी, एआईले स्वास्थ्य, शिक्षा र पूर्वाधार परियोजनाहरूमा स्रोतको उपयोग गर्न सक्छ, जसले समान विकास सुनिश्चित गर्दछ । भ्रष्टाचार नियन्त्रण र प्रकोप व्यवस्थापनमा यसको भूमिका यस प्रविधिको उपयोगितालाई थप उजागर गर्छ ।

एआईलाई प्रभावकारी बनाउन बहुआयामिक दृष्टिकोण आवश्यक छ । नेपालले डेटा गोपनीयता, नैतिकता, पूर्वाधार र कोषजस्ता पक्षलाई सम्बोधन गर्ने व्यापक एआई नीति मस्यौदा गर्नुपर्छ । एआई अनुप्रयोगहरूमा स्थानीय अधिकारीहरूको तालिमले कार्यान्वयन सक्षम बनाउन सक्छ । सार्वजनिक–निजी साझेदारीहरूले प्रभावकारी परियोजनाहरूका लागि स्रोत र विशेषज्ञतालाई सङ्कलन गर्नसक्छ । एआई समाधानहरूको डिजाइन र कार्यान्वयनमा समुदायको सहभागिताले उनीहरूको आवश्यकता र समस्याहरूको समाधान गर्न मद्दत पु¥याउँछ । नेपालको एआई पहललाई अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मिलाउँदै सुसङ्गत र विश्वव्यापी सहकार्यलाई प्रोत्साहन गर्न सकिन्छ ।

एआईले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना राख्छ । पूर्वाधार, शिक्षा र नीति विकासमा रणनीतिक लगानी गरेर, नेपालले आफूलाई दक्षिण एशियामा एआई हबको रूपमा स्थापित गर्नसक्छ । नागरिकहरूका लागि स्वास्थ्य र शिक्षामा सुधारदेखि प्रभावकारी शासनसम्मका फाइदाहरू महत्वपूर्ण र टाढासम्म फैलिएका छन् । सरकार, निजी क्षेत्र र नागरिकहरूबाट एकीकृत प्रयासका साथ नेपालले एआईको शक्ति उपयोग गरेर समृद्ध र समान भविष्य निर्माण गर्नसक्छ ।

विश्वमा एआईको के–के नयाँ विकासहरू भइरहेका छन् ?

एआईको उल्लेखनीय प्रगतिले जीवन र व्यवसायमा ठूलो परिवर्तन ल्याइरहेको छ । एआईको नयाँ–नयाँ विकासले धेरै क्षेत्रमा सम्भावनाका ढोकाहरू खोलेको छ । जनरेटिव एआई जस्तैः च्याट जिपिटी, डल–इ र मिडजर्नी, मानव–जस्तै सामग्री सिर्जना गर्न सक्षम भएका छन् । यी प्रविधिहरूले टेक्स्ट, चित्र, सङ्गीत, र भिडियो सिर्जना गर्न सक्षम प्रणालीहरू प्रदान गरेका छन् । यो सिर्जनात्मकता र नवाचारको क्षेत्रमा मात्र सीमित छैन; यसको प्रभाव स्वास्थ्य सेवा, शिक्षा र व्यापारमा समेत व्यापक छ । एआई आधारित रोबोटिक्सले उत्पादनशीलता र दक्षतामा उल्लेखनीय वृद्धि गरेको छ । अहिले, स्वचालित सवारी साधन पनि एआईको महत्वपूर्ण विकास हो । टेस्ला, वेमो र अन्य कम्पनीहरूले एआई चालित गाडीहरू विकास गरिरहेका छन्, जसले यात्रालाई सहज, सुरक्षित र वातावरणमैत्री बनाउन मद्दत गरिरहेको छ । यस्तै, स्वास्थ्य सेवामा एआईले रोग निदान र उपचार योजना बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । एआई आधारित इमेज प्रोसेसिङ प्रणालीहरूले एमआरआई र सिटीस्क्यान जस्ता परीक्षणहरूको द्रूत र सटिक विश्लेषण सम्भव बनाएको छ । साथै, एआईले प्राकृतिक भाषा प्रशोधन (एनएलपी) जस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ । यसले मानिस र कम्प्युटरबीचको संवादलाई अझ प्रभावकारी बनाएको छ । सिरी, एलेक्सा र गुगल ट्रान्सलेटजस्ता उपकरणहरू एनएलपीको मुख्य उदाहरण हुन् । यस्तो निरन्तर प्रगतिको प्रभावले हामीले सोच्नसक्ने भन्दा धेरै फाइदा पु¥याइरहेको छ र यसले भविष्यमा अझ धेरै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

एआईको भविष्य कस्तो हुनेछ ?

एआईको भविष्य अत्यन्तै उज्यालो र रोमाञ्चक छ । यो प्राविधिले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, र व्यापारजस्ता क्षेत्रहरूलाई अझ प्रभावकारी बनाउँदैछ । निकट भविष्यमा, एआईले मानव श्रमको आवश्यकता कम गर्दै धेरै कामहरू स्वचालित गर्नेछ । यो प्रविधिले मानिसलाई दोहोरो कामबाट मुक्त गराउँदै सिर्जनात्मक र सोच्न आवश्यक पर्ने कार्यहरूमा ध्यान केन्द्रित गर्न सहयोग पु¥याउनेछ । सुपर–इन्टेलिजेन्सको विकास भविष्यमा एआईले मानव बुद्धिलाई पार गर्ने क्षमता राख्छ भन्ने भविष्यवाणी गरिन्छ । यस्तो सुपर–इन्टेलिजेन्सले जटिल समस्याहरू समाधान गर्न, जस्तै जलवायु परिवर्तनको समाधान खोज्न, जैविक अनुसन्धानमा क्रान्ति ल्याउन र नयाँ औषधिहरू विकास गर्न सक्नेछ ।

यस्तै, एआईको प्रयोगले वैज्ञानिक अनुसन्धानमा ठूलो परिवर्तन ल्याउनेछ । स्वास्थ्य सेवामा, एआईले व्यक्तिगत उपचार योजना तयार गर्न र दुरुस्त रोग निदान गर्न भूमिका खेल्नेछ । साथै, शिक्षा क्षेत्रमा, एआईले व्यक्तिगत शिक्षा प्रणाली विकास गर्न, योजनाहरू अनुकूलन गर्न र विद्यार्थीहरूको आवश्यकताअनुसार अध्ययन सामग्री प्रदान गर्न सहयोग पु¥याउनेछ । व्यापार क्षेत्रमा एआईले डाटा विश्लेषण, उपभोक्ता प्रवृत्ति पहिचान र बजार रणनीति निर्माण गर्न सहयोग गर्नेछ । यसले मानिस र प्रविधिको सहकार्यलाई अझ सुदृढ बनाउनेछ । मानिसको जीवनलाई अझ सहज र व्यवस्थित बनाउनेछ । यस्तो भविष्यले मानवीय जीवनलाई नयाँ उचाइमा पु¥याउनेछ ।

कसरी धेरैभन्दा धेरै उपयोग गर्न सक्छौँ ?

एआईको सही उपयोग गरेर नेपालीहरूले आफ्नो जीवनस्तरमा सुधार ल्याउन सक्नेछन् । नेपालजस्तो देशका लागि एआईले धेरै सम्भावना प्रदान गर्दछ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, र उद्योगजस्ता क्षेत्रहरूमा एआईको प्रभावकारी उपयोग गरेर देशलाई विकासको मार्गमा अगाडि बढाउन सकिन्छ । कृषि क्षेत्रमा एआई आधारित प्रणालीहरूले माटोको परीक्षण, बालीको अवस्था विश्लेषण र उत्पादन बढाउन मद्दत गर्न सक्छ । स्मार्ट कृषि प्रणालीले लागत घटाउन र उत्पादकत्व बढाउन सहयोग पु¥याउँछ भने शिक्षा क्षेत्रमा एआईले अनलाइन कक्षाहरू, भर्चुअल ट्यूटर, र व्यक्तिगत अध्ययन योजना तयार गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा अनलाइन शिक्षालाई प्रभावकारी बनाउन, विद्यार्थीहरूलाई पहुँचयोग्य बनाउन र शिक्षाको गुणस्तर सुधार गर्न एआई प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा, एआईले ग्रामीण भेगका मानिसहरूको लागि टेलिमेडिसिन सेवा उपलब्ध गराउन सहयोग गर्न सक्छ । यसले जनसंख्याको ठूलो हिस्सालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसक्छ । पर्यटन क्षेत्रमा, एआईले भर्चुअल गाइड, भाषा अनुवाद र पर्यटकहरूको व्यक्तिगत आवश्यकताहरू बुझेर सेवा प्रदान गर्न सक्छ । यसले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनेछ । यसरी, एआईको सही उपयोगले नेपालीको जीवन सुधार गर्न र देशलाई प्रगतिको मार्गमा अगाडि बढाउन मद्दत गर्नेछ ।

एआई कसरी सिक्न सक्छौँ ?

एआई सिक्न धेरै स्रोतहरू उपलब्ध छन् । अहिलेको डिजिटल युगमा अनलाइन प्लेटफर्महरूले एआईमा पाठ्यक्रमहरू उपलब्ध गराइरहेका छन् । यी पाठ्यक्रमहरूले आधारभूतदेखि उन्नत स्तरसम्मको ज्ञान प्रदान गर्छन् । साथै, धेरै पाठ्यक्रमहरू निःशुल्क वा सस्तो शुल्कमा उपलब्ध छन् । यस्तै, पुस्तकहरू पनि एआई सिक्ने उत्कृष्ट स्रोत हुन् । प्रोजेक्ट–आधारित सिकाइ एआई सिक्नको लागि अर्को प्रभावकारी विधि हो । कुनै समस्या समाधान गर्न वा कुनै नयाँ प्रणाली निर्माण गर्न प्रोजेक्टमा संलग्न भएर सिकाइलाई व्यावहारिक बनाउन सकिन्छ । नेपालका विश्वविद्यालयहरूले पनि एआईसम्बन्धी कोर्सहरू शुरु गर्नुपर्छ, जसले विद्यार्थीहरूलाई विश्वस्तरको ज्ञान र सीप प्रदान गर्नेछ । यसैगरी, स्वयंसेवाका माध्यमबाट एआईसम्बन्धी परियोजनामा संलग्न भएर सिकाइलाई सुदृढ गर्न सकिन्छ । एआई सिक्नका लागि भाषा, गणित, र कम्प्युटर विज्ञानको आधारभूत ज्ञान आवश्यक पर्छ, जसलाई स्थानीय तहदेखि उच्च शिक्षासम्म शिक्षण प्रणालीमा समावेश गर्न सकिन्छ ।

नेपालमा एआई व्यवसायको सम्भावना कस्तो छ ?

नेपालमा एआई व्यवसायको सम्भावना अत्यन्तै ठूलो छ । देशको प्राकृतिक स्रोतसाधन, जनशक्ति र स्थानीय समस्याहरूको समाधान गर्न एआई आधारित व्यवसायहरूको स्थापना गरेर देशलाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ । ई–कमर्समा, एआईले ग्राहकहरूको रुचि र प्रवृत्ति बुझेर व्यक्तिगत सिफारिस प्रणाली तयार गर्न सहयोग गर्नसक्छ । यसले ग्राहक सेवामा सुधार ल्याउँदै व्यवसायलाई प्रतिस्पर्धी बनाउनेछ । वित्तीय क्षेत्रमा, एआईले धोखाधडी पत्ता लगाउने, ऋण जोखिमको मूल्याङ्कन गर्ने र वित्तीय विश्लेषणलाई सहज बनाउनेछ । स्वास्थ्य सेवामा एआई आधारित उपकरणहरूले ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सहयोग पु¥याउनेछ । सूचना प्रविधि क्षेत्रमा एआईले सफ्टवेयर र एप्लिकेसनहरूको विकासलाई प्रवद्र्धन गर्नेछ । यस्तै, शिक्षा क्षेत्रमा, एआईले विद्यार्थीहरूको अध्ययन प्रक्रियालाई व्यक्तिगत बनाउन र शिक्षाको गुणस्तर सुधार गर्न योगदान पु¥याउनेछ । एआई व्यवसायले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन, रोजगारी सिर्जना गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायहरूको पहुँच विस्तार गर्न मद्दत गर्नेछ ।

यसलाई कसरी धेरैभन्दा धेरै उपयोगी बनाउन सकिन्छ ?

नेपालमा एआईको प्रयोगलाई प्रभावकारी बनाउन सरकारको भूमिका मुख्य छ । सरकारले एआई प्रविधिमा लगानी बढाउन र नीति निर्माण गर्नुपर्छ । सरकारी सेवाहरूमा एआई आधारित प्रणालीहरूको प्रयोगले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनेछ । उदाहरणका लागि, सरकारी कागजातहरूको डिजिटलाइजेसन, ट्राफिक व्यवस्थापन प्रणाली र सरकारी सेवाको अनलाइन पहुँचजस्ता क्षेत्रमा एआईले ठूलो योगदान पु¥याउन सक्छ । गाउँस्तरमा, एआई आधारित शिक्षादीक्षा र स्वास्थ्य सेवाहरू लागू गर्न सकेमा ग्रामीण क्षेत्रको जीवनस्तर सुधार हुनेछ । यसका लागि सरकारले ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि गर्न र एआईमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

स्थानीय समाधान र विश्वव्यापी प्रतिस्पर्धा

एआईले स्थानीय समस्याहरू समाधान गर्न र विश्वव्यापी प्रतिस्पर्धामा नेपालको स्थान सुदृढ गर्नसक्छ । उदाहरणका लागि, कृषि क्षेत्रमा एआईले बाली व्यवस्थापन, उत्पादन पूर्वानुमान, र रोग नियन्त्रणमा सहयोग पु¥याउन सक्छ । पर्यटन क्षेत्रमा, भर्चुअल गाइड र भाषा अनुवाद सेवाले विदेशी पर्यटकहरूको अनुभव सुधार्न सक्छ । फिनटेकमा एआईले वित्तीय प्रविधि सुधार गर्न र बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्नसक्छ ।

चुनौती र समाधान

आधारभूत पूर्वाधारको कमी, जनशक्तिको अभाव र नीतिगत अस्पष्टताका कारण नेपालमा एआई अपनाउन धेरै चुनौतीहरू छन् । सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूको सहकार्यबाट यी चुनौतीहरू समाधान गर्न सकिन्छ । विश्वविद्यालयहरूले एआईलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । सरकारी कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्न र नयाँ व्यवसाय स्थापना गर्न प्रोत्साहन दिनुपर्छ । निजी क्षेत्रले एआई आधारित परियोजनाहरूमा लगानी गर्नुपर्छ । एआई संसारभर तीव्रगतिमा विकास भइरहेको छ र नेपालले यसलाई सही तबरले अपनाएमा ठूलो फाइदा लिन सक्छ । शिक्षादेखि स्वास्थ्यसम्म र ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा एआईको प्रयोग गरेर देशलाई डिजिटल युगमा अगाडि बढाउन सकिन्छ । हामीले स्थानीय समस्या समाधान गर्दै एआईको उपयोग गर्नुपर्छ र विश्वव्यापी प्रतिस्पर्धामा नेपाललाई मजबुत बनाउने लक्ष्य राख्नुपर्छ । एआईले नेपालीहरूको जीवन सुधार गर्न र देशलाई प्रगतिशील बनाउन ठूलो भूमिका खेल्नसक्छ ।
(लेखक अमेरिकाका विभिन्न विश्वविद्यालयमा कम्प्युटर विज्ञान, तथ्याङ्क विज्ञान साइन्स र कृत्रिम बुद्धिमताका प्राध्यापक तथा प्रोमेट्रिक कम्पनीको इञ्जिनियरिङ र प्रविधि विभागका विषयविज्ञ पनि हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर