देउवालाई सचिवालय गर्न पनि सकस ! — OSNepal

देउवालाई सचिवालय गर्न पनि सकस !

LC (KTM) August 05, 2021 0

काठमाडौं – प्रधानमन्त्रीको सचिवालय निकै संवेदनशील हुन्छ । सरकारलाई सफल वा असफल बनाउनका लागि पनि सचिवालयकै महत्वपूर्ण भूमिका रहन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको तेस्रो हप्ता गुज्रिसक्दा पनि सचिवालयलाई चुस्तदुरुस्त बनाउन सक्नुभएको छैन । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

दुई/दुईपटक संसद् विघटनपछि पुनःस्थापित भएर विषम परिस्थितिमा बनेको देउवा सरकारको अत्यावश्यक र महत्वपूर्ण खासखास जिम्मेवारीहरू पनि निर्धारित छन् । कुनै पनि हालतमा देउवा असफल बन्न नमिल्ने परिस्थितिमा प्रधानमन्त्रीको सचिवालय र कोर टिम कमजोर हुनु स्वयम् प्रधानमन्त्री देउवा मात्र नभएर गठबन्धन नै असफल हुनु हो ।

माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल गुटसहितको गठबन्धनमा बनेको देउवा सरकारले अझै मन्त्रिपरिषद्को विस्तार गर्न सकेको छैन । दुईपटक गरी ६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट मन्त्रीको हैसियत नदिएपछि क्याबिनेट पाँच सदस्यमा समेटिएको छ ।

समयमै मन्त्रिपरिषद्को विस्तार गर्न नसकेको देउवा सरकारले आफ्नो सचिवालय व्यवस्थित गर्नसमेत सकिरहेको छैन । आफ्नो सचिवालयमा भएको नियुक्तिको ढिलाइ प्रधामन्त्रीको दैनिक कार्य पनि प्रभावकारी ढंगले अघि बढिरहेको छैन । यद्यपि, देउवाले आफूसँगै बूढानीलकण्ठमा रहेका केही सहयोगीद्वारा सचिवालयको नियमित काम भने गराइरहनुभएको छ । उहाँले आफ्ना सहयोगी भानुबहादुर देउवा (भानु), प्रकाश देउवा, वीरेन्द्र थापालगायतलाई दैनिक प्रधानमन्त्रीसँगको भेटघाट सहजीकरणका लागि खटाइएको छ । निजी सचिवका रूपमा बद्री तिवारीले जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटाले यसअघिको कार्यकालमा झैँ जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । देउवाको सामाजिक सञ्जालको जिम्मा गोविन्द परियारले पाउनुभएको छ । प्रधानमन्त्री पत्नी आरुजु राणासँग निकटको सम्बन्ध रहेको भनिएका परियारले आफूसँगै विजय अधिकारीसमेतलाई समेटेर काम गरिरहेको बताइन्छ । परराष्ट्र मामिलामा डा. दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई सहयोग गर्दै आउनुभएको छ । सुशील कोइरालाको अति प्रिय पात्र मानिने भट्टराईलाई देउवाले आफ्नो अघिल्लो कार्यकालमा टिममा भित्र्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर