काठमाडौँ- ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
भारत सरकारको आर्थिक सहयोग रु ३.५४ करोड लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।