प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे — OSNepal

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

LC (KTM) December 02, 2024 0

गण्डकी, १७ मङ्सिर : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताउनुभएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज आयोजना गरेको समीक्षामा उहाँले काम छिटो गर्न र गुणस्तरमा ध्यान दिन कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

“सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।” चालु वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार विकासअन्र्तगत विनीयोजन भएको छ ।

प्रदेश स्थापनाको यस अवधिसम्म ७५ अर्ब रूपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट छ सय ९६ किलोमिटर सडक ग्राबेल, नौ सय एक किलोमिटर ब्ल्याक टप कालोपत्रे, एक सय तीनवटा पूल निर्माण भएको छ । “प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश स्थापनापछि विकासको गति बढेको छ ।”

सङ्घ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उहाँले बताउनुभयो । गत वर्ष सङ्घ सरकारले करिब दुई अर्ब अनुदान नपठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गत वर्ष अनुदान नआउँदा अहिले पनि प्रदेश सरकारलाई करिब तीन अर्बको दायित्व छ ।” योजना छनोट भएर कार्यान्वयनमा गएपछि बजेट काटिँदा प्रदेश सरकारको दायित्व बढेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर