तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा — OSNepal

तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा

LC (KTM) November 16, 2024 0

काभ्रेपलाञ्चोक, १ मङ्सिर : बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनःनिर्माणमा लागिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उहाँले पुनःनिर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनःनिर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,” लामाले भन्नुभयो, “यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।” बाढीपहरिोबाट मृत्यु भएका प्रतिपरिवारलाई कार्यविधिअनुसार नै रु एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारसँग विपद् ब्यवस्थापनका लागि केही बजेट भएको जानकारी गराउनुभयो ।

मुख्यमन्त्री लामाले भन्नुभयो, “अब क्षतिको विवरण सङ्कलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफलमार्फत सहकार्य गर्नका लागि निर्णय पनि गर्न बाँकी रहेको छ ।”

मुख्यमन्त्री लामाले विपद्प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताउनुभयो । “हामीले भएको राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पठाएका छौँ, बाँकीलाई क्रमशः पठाउँदै गइनेछ,” उहाँले भन्नुभयो ।

असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् । बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबीच गाउँपालिकाले बाढीपहिरोको क्षति र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानार्षण गराएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट ब्यवस्थापन गर्न अनुरोध गर्नुभएको हो । मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट ब्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर