काठमाडौँ, १९ कात्तिक : यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । “गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो”, उहाँले भन्नुभयो, “मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।”
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो । “मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ”, उहाँले भन्नुभयो ।
क्षतिको आँकलन गरिँदै
मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उहाँको भनाइ छ ।
रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन
यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो ।
मन्त्रालयको अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो ।
मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो ।
गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ ।
कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताउनुभयो । “यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।”
यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो । अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिनुभयो । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।”
वर्षाको थप असर
गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । यसले काटेर थुपारिको धानको पाँजा (निहिन) लाई असर पार्ने देखिएको कछ ।
मङ्गलबारदेखि मौसम सफा हुने
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही दिनयता मुलुकको विभिन्न पहाडी क्षेत्रमा भइरहेको वर्षा आज रातिसम्म रहने छ । “हामी तीन दिने मौसमी पूर्वानुमान गर्ने छौँ, मङ्गलबार दिउँसोदेखि मौसम सफा रहने छ”, उहाँले भन्नुभयो, “तीन दनसम्म वर्षा हुने सम्भावना छैन, पछिको अवस्था कस्तो रहन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिने छैन ।” उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आयात बढ्ने सक्ने
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब रु ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा रु आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ ।
यस्तो छ, धान उत्पादनको अवस्था
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।
कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।
गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गर्यो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।
गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।