न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति — OSNepal

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

LC (KTM) October 23, 2024 0

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गर्नुभएको छ ।
मन्त्री पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । गठित समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्रा डा गोपाल सेढाईं हुनुहुन्छ ।

यसैगरी, वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा राजीव ओझा, नेप्लिज एशोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि समितिको सदस्य रहने छन् ।

समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सका सह प्रा डा अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेललाई सदस्य सचिव तोकिएको छ । समितिलाई देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त स्थानमा जग्गा खोजीको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको छ ।

अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात् स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेस गर्न समितिलाई भनिएको छ । हाल न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेकाले केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । “यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर मन्त्रीज्यूबाट मन्त्रिस्तरीय निर्णयमार्फत अध्ययन समिति गठन भएको हो”, उहाँले भन्नुभयो । बिरामीको चाप बढिरहेको न्युरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर