प्रचण्डका समस्यै समस्या, देउवा झनै तनावमा ! — OSNepal

प्रचण्डका समस्यै समस्या, देउवा झनै तनावमा !

LC (KTM) August 04, 2021 0

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र देउवा सरकारमा मन्त्री थप गर्ने विषय पेचिलो बन्दै गएको छ। माओवादीले आफ्ना मन्त्रीहरुको नाम नदिँदा प्रधानमन्त्री बनेको ३ हप्ता पुग्दापनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । पाँच दलीय गठबन्धनका सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री भए । सोही दिन उनले कांग्रेसका २ र माओवादीका २ जनालाई समावेश गरेर मन्त्रिमण्डल गठन गरेका थिए । तीन साता पुग्दापनि देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

साझेदार दल माओवादी केन्द्र र जसपाले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो नलगाउँदा अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।उता, एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने, नहुने अन्योलताले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनको बैठकमा नेपाल समूहबाट प्रतिनिधित्व गरेर पुगेका डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए । नेपाल पक्षका केही सांसद भने आफूहरू सरकारमा सहभागी हुने कुरा सार्वजनिक रुपमा भन्दै आएका छन् । देउवा प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तर माधव नेपालसँग संवादमा छन् । नेपाललाई सरकारमा सहभागी हुनका लागि प्रचण्डले पटक–पटक आग्रह गरे ।

गत आइतबार प्रचण्डसँग कोटेश्वरस्थित एक व्यापारीको घरमा भएको छलफलमा नेता नेपालले केही समय पर्खन अनुरोध गरेका थिए । त्यसअघि र पछि प्रचण्डले माधव नेपाल समूहको अलमलका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताउँदै आएका थिए । एमालेभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा रहेका नेपाल पक्षका नेताहरू सरकारमा जान हतारो गर्न नहुने बताउँदै आएका छन् । तर देउवालाई विश्वासको मत प्रदान गरेका २२ सांसदहरुले भने सरकारमा सहभागी हुनपर्ने भन्दै नेता नेपालमाथि दबाब बढाउँदै आएका छन् ।

नेपाल पक्षका हार्डलाइनर नेता तथा सांसद मेटमणि चौधरीले सरकारमा सहभागी हुने कुरा खुलेआम बताउँदै आएका छन् । संसदको पूरा कार्यकाल चलाउन आफूहरुको भूमिका रहने भन्दै सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको उनको भनाइ छ । एमालेको माधव नेपाल पक्षको अलमलकै कारण माओवादी र जसपाले मन्त्री बन्नेको नाम टुंग्याउन नसकेको भने होइन । तत्काल माधव नेपालहरू सरकारमा नआउने भएपछि मन्त्रालय बाँडफाँडको विषयमा कुरा अल्झिएको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।

‘अब माधव नेपाल समूहका कारणले माओवादी वा जसपाले मन्त्रालय टुंग्याउन नसकेको भन्ने होइन’ उनले भने ‘उहाँ(माधव नेपाल)हरू नआउने भएपछि अब बाँडफाँडको विषयमा अड्किएको हो कुरा चाँही ।’ एमालेसँग एकता गरेर नेकपा बनेपछि सरकारमा गएको माओवादी केन्द्र प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सरकारबाट बाहिरिएको थियो । कांग्रेससँग गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्ड सत्ता आफूतिर पार्न त सफल भए । तर, मन्त्रालय बाँडफाँडका उनलाई निकै सकसमा परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर