मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता — OSNepal

मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता

LC (KTM) October 21, 2024 0

विराटनगर, ५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच आज यहाँ शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो ।

स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष–२०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिनुभयो ।

भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताउनुभयो ।

कोशी प्रदेशमा स्विस सरकारको सहयोगमा खानेपानी तथा सिँचाइ मन्त्रालयअन्तर्गत आठवटा पहाडी जिल्लामा साना सिँचाइ आयोजना, झोलुङ्गेपुल, प्राविधिक सहयोग तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत सीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरू सञ्चालनमा छन् । यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुशासनसँग सम्बन्धित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) र युवा उद्यमशीलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर