‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’ : मन्त्री शाही — OSNepal

‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’ : मन्त्री शाही

LC (KTM) October 19, 2024 0

मुगु, ३ कात्तिकः वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ । यसका लागि नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९औँ बैठकमा आवाज उठाउने उहाँले बताउनुभयो ।

कोप–२९ को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेसनको संयुुक्त आयोजना आज यहाँ भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “जलवायु परिवर्तनका असरले नेपाले ठूलो नोक्सानी बेहोरिरहेको छ । त्यसैले हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ । यस विषयमा कोप २९ औँ बैठकमा आवाज उठाउछु”, मन्त्री शाहीले भन्नुभयो ।

कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बुका जनप्रतिनिधि तथा अन्य सरोकार भएका निकायको समेत सहभागिता र कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

छायाँनाथ रारा नगरपालिका—९ का स्थानीय बिर्ख रोकायाले विश्व जलवायु परिवर्तनको असर विशेष गरी उच्च हिमाली क्षेत्रका बासिन्दाले धेरै भोग्नु परेको सुनाउनुभयो । “आठ–दश वर्षअगाडि मानिसको घुँडासम्म पर्ने हिउँ अहिले पैतालसम्म पनि पर्दैन । गाउँ नजिकका पानीका मूल सक्दै गएका छन् । वर्षा हुने समयमा वर्षा हुँदैन, खेतीपातीमा राम्रो उत्पादन हुनै छाड्यो । सबैभन्दा बढी कर्णालीका बासिन्दाले जलवायु परिवर्तनको असर खेप्नु परेको छ”, उहाँले भन्नुभयो ।

खुम्बु पासङल्हामु गाउँपालिका सोलुखुम्वुका उपाध्यक्ष टासी लामा शेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताउनुभयो । यही असरकार कारण केही महिनाअघि थामेमा हिमताल फुटेर आएको बाढीले सिङ्गो बस्तीलाई क्षति गरेको उहाँले उल्लेख गर्नुभयो ।

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारले स्थानीय सरकारलाई रु एक–एक करोड ससर्त अनुदानमा बजेट विनियोजित गर्नाका सङ्घीय जलवायु परिवर्तन ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

हिउँ चितुवाविज्ञ रिक्जिन फुम्जन लामाले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रम बढ्दै जाँदा उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु अनुकूलनका लागि बासस्थान खोज्दै अन्यत्र जान थालेको बताउनुभयो । उहाँले जनावरलाई आवश्यक आहारासमेत नभेटिने र मिचाहा प्रजातिका घाँस तथा झारपात फैलिँदै जानेलगायत समस्याले वन्यजन्तु लोप हुने खतरा बढ्दै गएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर