पाटन प्रिमियर लिग : कुलगडे क्लब विजयी — OSNepal

पाटन प्रिमियर लिग : कुलगडे क्लब विजयी

LC (KTM) October 18, 2024 0

बैतडी, २ कात्तिक : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ । कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

रिभर साइडले दिएको एक सय ५९ रनको लक्ष्य कुलगडेले १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि पङ्कज लुहारले ४७ रनको योगदान दिए । त्यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको रिभर साइडले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका लागि आयुष विष्टले सर्वाधिक ३८ रन बनाए ।

बलिङतर्फ कुलगडेका लागि पङ्कज लुहार र राजेन्द्र ठगुन्नाले दुई दुई विकेट लिए । पङ्कज खेलको म्यान अफ दी म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा १७ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो ।

दोस्रो हुने टोलीले रु ५६ हजार सात सय ८९ प्राप्त गर्नेछ । म्यान अफ दी सिरजलाई रु १२ हजार तीन सय ४५ तथा उत्कृष्ट बलर र ब्याटरलाई रु ६ हजार सात सय ८९ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय र तेस्रो संस्करणको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर