म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण — OSNepal

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

LC (KTM) October 18, 2024 0

गलेश्वर (म्याग्दी), २ कात्तिकः पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।

मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१÷८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०÷८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर