मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, १२ सडकआश्रित मानवको उद्धार — OSNepal

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, १२ सडकआश्रित मानवको उद्धार

LC (KTM) October 17, 2024 0

विराटनगर – मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत हिजो १२ जना मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुने आयोकले जनाएको छ ।

उद्धार यात्राका क्रममा उद्धार टोली हिजो सुनसरीको दुहबी, इटहरी, धरानका विभित्र स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरेको हो ।

हिजो सुनसरीको दुहबी नगरपालिका–७ बाट एक जना, इटहरी उपमहानगरपालिकाका विभित्र वडाबाट सात जना र धरान उपमहानगरपालिकाबाट चार गरी १२ जनाको उद्धार भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

यात्राको पहिलो दिन सोमबार झापाका विभित्र क्षेत्रबाट १०, दोस्रो दिन छ जना सडक आश्रित मानवको उद्धार गरिएको थियो । उद्धार गरिएका सडक आश्रित मानवको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै संरक्षणका लागि पठाइएको छ ।

साथै बिहीबार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य हुनुभएका मानवको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्री छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनःमिलन गराउँदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

यो पटकको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्न लिएको सङ्कल्पलाई सघाउने आश्रम विश्वास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर