ललितपुरको गोदावरी पुगेका मन्त्री यादवले भने - पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ — OSNepal

ललितपुरको गोदावरी पुगेका मन्त्री यादवले भने – पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ

LC (KTM) October 16, 2024 0

पाटन (ललितपुर) – खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उहाँले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गरिने बताउनुभयो ।

“ हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,” मन्त्री यादवले भन्नुभयो ।

बाढीबाट खानेपानी मुहानको क्षतिबारे जानकारी लिन मन्त्री यादवसहित, पूर्वअर्थराज्यमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), वन विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू नल्लु पुग्नुभएको थियो ।

“खानेपानी नागरिकको आधारभूत अधिकार हो । सङ्घीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनः स्थापना कार्य सुरु गर्नु होला । जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो । म व्यक्तिगतरूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिड्दिनँ,” मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो रहेको बताउनुभयो । उहाँले अबको समय सङ्कट समाधानमात्र होइन भन्दै दीर्घकालीन सुधारको लागि छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थराज्यमन्त्री राणाले विपत्तिका कारण चापागाउँ, ठेचो, धापाखेल र सुनाकोठी क्षेत्रमा खानेपानीको हाहाकार भएको बताउनुभयो । उहाँले १० देखि १५ दिनभित्र खानेपानी सञ्चालन हुने आश्वास खानेपानी मन्त्रीबाट प्राप्त भएको बताउँदै जतिसक्दो छिटो खानेपानी सेवा सुरु हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले बाढी पहिरोबाट प्रभावित पालिकालाई क्षतविक्षत भएको खानेपानी सेवा पुनःसञ्चालन गर्न केन्द्रीय सरकारले सिधै केही रकम पठाइदिनु पर्नेमा खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नल्लु र बासुकी क्षेत्रको पानी १५ दिनभित्र ल्याउन सकिने अवस्था भएकाले बजेट नपुग भएको खण्डमा नगरपालिकाबाटै भए पनि व्यवस्था गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर