काठमाडौं ।फिल्म ‘ज्वाइँ साब’ प्रर्दशनमा आए लगत्तै दर्शकले रुचाएका छन् । फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित आफ्नो फिल्मप्रति दर्शकको चासो देखेर मख्ख छन् ।प्रस्तुतकर्ता पण्डित आम दर्शकका लागि ‘ज्वाइँ साब’लाई अहिलेसम्मकै फरक कथाको फिल्म भनी दाबी गर्छन् । ‘बिहेपछि केटाको घरमा केटी जाने, बुहारी बन्ने चलन छ । केही निश्चित प्रतिशत मात्र केटा विवाह गरेर ससुरालीमा बस्ने संस्कार कहीँ कतै छ । ससुरालीमा बसे पनि उसले आफ्नै घरमा केटी भित्र्याउँछ’, उनी भन्छन्, ‘तर आजसम्म केटालाई बिहे गरेर केटीको घरमा विधिवत रुपमा भित्र्याइएको कतै पाइएन । केटीलाई सजिएर केटाको घरमा भित्र्नु पर्ने र केटालाई ससुरालीमा गएर बस्दा किन लुरुक्क परेर जानुपर्ने ? । यो मान्यतालाई कटाक्ष गर्दै केटा पनि ससम्मान ससुराली भित्र्न पाउनुपर्छ भन्ने कथा फिल्ममा देखाएका छौं । हामीले म्यासेजभन्दा पनि म्याजिक दिएका छौं ।’
उनले फिल्मका लेखक सबिन अधिकारीले ‘वान लाइन स्टोरी’ सुनाएपछि उनलाई समय मागेर आफ्ना साथीहरुसँग छलफल गरेको बताए । ‘मैले साथीहरु, फिल्म विज्ञहरुसँग कथा र फिल्मको नामबारे छलफल गरें । दुई, तीनवटा फिल्मको नाम थियो, तर ‘ज्वाइँ साब’ नै जुर्यो’, प्रस्तुतकर्ता पण्डित भन्छन् ।
उनी फिल्ममा प्रमुख पात्रदेखि एक दृश्यमा अभिनय गर्ने कलाकारहरु दर्शकले चिन्ने अनुहार राखेकाले पनि फिल्म हेर्न दर्शक आउनेमा आफू ढुक्क रहेको बताउँछन् । ‘हामीले म्यासेज भन्दा पनि दर्शकले खोजेको म्याजिक किसिमको फिल्म बनाएका छौं । दशैंको रमाइलो वातावरणमा परिवारसँग बसेर फिल्म हेर्न सकुन् भनेर फूलपातीको दिनलाई रिलिज तोकेका हौं’,उनले भने ।
फिल्ममा उनले अभिनेता रमेश बुढाथोकीको विश्वासिलो पात्रको भूमिका अभिनय गरेका छन् । ‘उसले रमेश दाईको सम्पूर्ण सम्पत्तिको हिसाब राख्ने, रेखदेख गर्ने काम गर्छ । मेरो चरित्र सकारात्मक र नकारात्मक दुवै किसिमको छ’, उनले भने ।
उनी ‘ज्वाइँ साब’ प्रति आशावादी सुनिए । ‘फिल्म सुरु गर्दा यतिको लेभलमा पुग्ला या नपुग्ला भन्ने चासो सबैमा थियो । पोस्टर सार्वजनिक गर्दा नै एक लेभलमा पोजेटिभ भाइब्स आइसकेको रहेछ । टिजर र गित रिलिज पछि सोचेभन्दा अझ माथिको लेभलमा पायौं । फिल्मलाई लिएर टिम उत्साहित छ’, उनले भने । प्रस्तुतकर्ता पण्डितले यसअघि निर्माण गरेको फिल्म ‘विच्छेद’ प्रदर्शनको लागि तयारी अवस्थामा छ ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।