बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो,१८ जना बेपत्ता — OSNepal

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो,१८ जना बेपत्ता

LC (KTM) October 07, 2024 0

काठमाडौँ, २१ असोज : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।

नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ ।

एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिनुभएको प्रवक्ता तिवारीले बताउनुभयो ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर