खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत — OSNepal

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

LC (KTM) October 07, 2024 0

चैनपुर (बझाङ), २१ असोजः तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी पर्नुभएकी उहाँलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए ।

त्यसले बिसेक नभएपछि थप उपचारका लागि उहाँ खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा जानुभयो । त्यहाँ गएपछि भने उहाँलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भन्नुभयो, “सबै उपचार गर्न सदरमुकाम चैनपुर, धनगढी, काठमाडौँ, भारतको पलिया, नयाँ दिल्लीतिर जान्छन् । उहाँ खप्तड जानुभयो । हामी त अचम्ममा पर्‍यौँ !”

तारालाई खप्तडमा उपचार गरेर सञ्चो भएपछि भने देवकुमारले पनि आफ्नी श्रीमतीलाई उपचार गर्न त्यही लगेको बताउनुभभयो । “दिल्लीको गर्मी र बझाङको चिसोले रूघा र ज्वरो बढेपछि खप्तडमा जाने निधो गर्‍यौँ । खप्तडमा नेपाली सेनाको ब्यारेक पुग्नु परेन । खापरदहमा हालै लागेको जगन्नाथ मेला ‘ओरालु’ मा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्‍यौँ र सञ्चो भयो”, थापाले भन्नुभयो ।

उहाँजस्तै पछिल्लो समय धेरै बिरामी खप्तडमा रहेको नेपाली सेनाको उपचार केन्द्रमा आकर्षित भइरहेका छन् । बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ का श्याम रावल त्यसको उदाहरण हुनुहुन्छ । लामो समय भारत बसेका उहाँ ओरालु मेला भर्न जाँदा लेक लागेर रिँगटा लाग्न थालेपछि आफन्तको सुझावपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा गएर सञ्चो भएको बताउनुहुन्छ । “मलाई त खै के पो हुने हो जस्तो लागेको थियो । उपचारका लागि नजिकै अर्को विकल्प पनि थिएन । त्यहाँ गरिएको सानो उपचारले खप्तड बसाइ सहज भयो”, रावलले भन्नुभयो ।

खप्तड जाँदा हुने यस्ता समस्याका बेला खप्तड ब्यारेकमा रहेको उपचार सेवा धेरैका लागि प्रणदायी बनेको छ । पर्यटक, गोठाला, तीर्थालुलाई पछिल्लो समय यो सेवा ढुक्कले खप्तड जाने आधार बनेको छ । गोठालो गर्न गएका प्रेम खड्काले हाल नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि तथा उपचार सेवाले यहाँ आउनेलाई निकै सहज भएको बताउनुभयो । “गाउँघरतिरका स्वास्थ्य चौकीमा प्रायः सिटामोल मात्रै पाइन्छ, न गतिलो औषधि, न उपचार नै । त्यसैले हामी त सानो समस्या भए पनि खप्तडमै आउँछौँ । यहाँ औषधिसँगै परामर्श राम्रो छ”, उहाँले भन्नुभयो ।

समरजित गुल्म खप्तडका गुल्मपति सेनानी रामकुमार थापाले स्वास्थ्य समस्या लिएर खप्तडमा दिनहुँ बिरामी आउने गरेको बताउनुभयो । उहाँले मेलाका समयमा शिविर तथा अन्य समयमा ब्यारेकको मेडिकलबाटै उपचार गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ, दशहरालगायत मेलामा पनि हजारौँ तीर्थालु भक्तजनले नेपाली सेनाले आयोजना गर्ने गरेको शिविरबाट सेवा लिने गर्छन् । “

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष हामीले स्वास्थ्यशिविर सञ्चालन गर्दै आएका छौँ । अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याले धेरैलाई समस्या हुन्छ । त्यसैले उहाँहरू लक्षित गरी शिविर आयोजना गर्ने गरिएको हो । त्यसबाहेक अन्य समयमा पनि दैनिकजसो २०/३० जनाले यहाँ उपचारका लागि आउने गरेका छन्”, गुल्मपति सेनानी थापाले बताउनुभयो ।

यस कार्यले जुनसुकै मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आइपर्ने भवितव्यमा निकै सहज भएको स्थानीयले बताएका छन् । यसका साथै मध्यवर्ती क्षेत्र आसपासमा हुने विभिन्न प्राकृतिक तथा अन्य दुर्घटनामा पनि उद्धार तथा खोज गर्न नेपाली सेनाले सक्रियता देखाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर