ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी — OSNepal

ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी

LC (KTM) October 06, 2024 0

काठमाडौँ- खोपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभएपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ ।

मन्त्री यादवले गर्नुभएको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा अहिले पानी झर्न सुरु भएको काठमाडौँ उपत्यका खोनेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीले जनाएको छ । दक्षिणकाली नगरपालिका र स्थानीयसँग गरिएका कतिपय प्रतिबद्धता भने पूरा गर्न बाँकी रहेकाले दशैँलगत्तै पूरा गर्नुपर्ने सहमति भएको केयुकेएलले जनाएको छ ।

मन्त्री यादवको आग्रहसँगै दक्षिणकाली नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकालीको कुटुरी मुहानबाट पानी पथान्तरण गरेको हो । अहिले पानी केयुकेएल भैँसीपाटीको खानेपानी टयाङ्कीमा अइपुगेको खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलदेवी शाक्य बज्रचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तत्काल दसैँसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने तथा पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के–के काम गर्न सकिन्छ सो विषयमा सम्झौतापत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएपछि पानी आएको हो ।”

ललितपुरमा रहेको केयुकेएलको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरण सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताउनुभयो ।

खानेपानीमन्त्री यादव आज दक्षिणकाली नगरपालिका पुग्नु भई आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढीपहिरोलगायत विपद्बाट नागरिकले भोग्नुपरेका पीडा तथा खानेपानीका समस्या समाधान गर्न प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले बाढीपहिरोले दक्षिणकालीका खानेपानीका मुहानमा भएका क्षतिको मर्मतसम्भार गर्न तत्काल योजनाबद्ध रुपमा काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहान मर्मत यथाशीघ्र गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
ललितपुरमा दक्षिणकालीको पानी लगिए पनि यहाँका नागरिकका समस्यालाई सम्बोधन नगरिएको भन्दै स्थानीय पानी पठाउन रोक्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर